काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा प्रगति देखिएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३७ करोड ८५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २४ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले यस्तो आर्जन ५३ दशमलव १२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
१ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले ५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३३४ दशमलव ९२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्ममा कम्पनीले १४ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी ४३ दशमलव ६८ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ०१ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात १३९.७७ गुणा रहेको छ ।