ज्योति विकास बैंक लिमिटेड स्थापनाको १२औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा बैंकको सञ्चालक समिति सदस्य, कर्मचारी तथा ग्राहकवर्गको उपस्थितिमा आफ्नो वार्षिकोत्सव एक समारोहको आयोजना गरी मनाएको छ ।
समारोहको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सोही समारोहमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष ” मार्फत इनेबल नेपाल संस्थालाई २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । उक्त रकम ३ डि प्रिन्टेड प्रोस्थेटिक कृत्रिम हात निर्माण गरी हात नभएका १० बालबालिकामा जडान गर्नको लागि उपयोग गरिने जनाइएको छ ।
बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा रु २ लाखको चेक इनेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरे ।
वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमा १०० भन्दा बढी व्यक्तिले रक्तदान गरेका थिए । वार्षिकोत्सवकै अवसरमा बैंकले “हाम्रो सुरक्षित बचत खाता” नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ। बचत संगै ५ लाखसम्म दुर्घटना बीमा तथा १ लाखसम्म औषधि उपचार खर्च प्रदान गर्ने नयाँ बचत खाताले ग्राहकवर्गलाई थप सुविधा पुर्याउनेमा बैंक विश्वस्त छ।
हाल बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।