काठमाडौं । बेलायतमा मोटर बीमाको धोकाधडीमा संलग्न संगठित अपाराधिक गिरोहका सदस्यहरुलाई कारागार चलान गरिएको छ।
गिरोहका १० सदस्यलाई धोकाधडीका हिसाबले १ वर्षदेखि ५ वर्षसम्मका लागि कारागार चलान गरिएको हो। यो गिरोहले बेलायती बीमा कम्पनीहरुबाट कार दुर्घटनाको नक्कली प्रमाण पेस गरेर ६ लाख ६५ हजार अमेरिकी डलर (९ करोड रुपैयाँ बढी) दाबी भुक्तानी लिएको ननप्रफिट इन्स्योरेन्स फ्रड ब्युरोले जनाएको छ।
अनुसन्धानका क्रममा यो संगठित गिरोहले बीमा कम्पनीमा दाबी गर्दा विभिन्न कारणले कारहरु दुर्घटनामा परेको कीर्ते कागजपत्र पेस गर्थे। जब कि ती कारहरु कहिल्यै दुर्घटनामा नपरेको अनुसन्धानबाट खुलेको छ।
लन्डनको सिटी पुलिसले गाडी बीमा दाबीको अनुसन्धान गर्दा फर्जी देखिएपछि उक्त संगठित गिरोहका सदस्यहरुलाई पक्राउ गर्न सफल भएको इन्स्योरेन्स फ्रड इन्फोर्समेन्ट डिपार्टमेन्टले जनाएको छ। ‘यस धोकाधडीका घटनाले गाडी बीमा प्रिमियम बढाउन बीमा कम्पनीहरुलाई बाध्य पारिरहेको छ’, अनुसन्धानकर्ता एडम मास्केलले भने।
यो गिरोहका दुई मुख्य योजनाकारले ३९ वटा कार दुर्घटना परेको भन्दै मर्मतमा ५ लाख ७३ हजार २४६ डलर खर्च भएको बिल सन् २०१५ डिसेम्बरदेखि सन् २०१६ अक्टोबरसम्म बीमा कम्पनीहरुमा दाबी पेस गरेका थिए। जसको दाबी भुक्तानी प्राप्त गर्न विभिन्न बैंकमा खाता खोलिएको थियो।
उक्त अवधिमा बीमा कम्पनीले ती बैंक खातामा दाबीबापत ६ लाख ६७ हजार ८८५ डलर पठाएको अनुसन्धानबाट खुलेको छ। यसरी बैंक खातामा पठाएको पैसा उनीहरुले अर्को बैंक खातामा ट्रान्सफर गरिहाल्थे।
गाडी बीमाको धोकाधडीमा संलग्न मुख्य योजनाकारहरु राजु पटेल र कमलेश भादुकुलाई बिर्मिङगम क्राउन कोर्टले गत महिना क्रमशः ५ वर्ष र ४ वर्ष १ महिनाको जेल सजाय सुनाएको थियो। यो समूहका अन्य सदस्यलाई पनि १ वर्ष जेल सजाय सुनाइएको थियो।
हाल गिरोहका सबै सदस्यलाई कारागारमा पठाइएको छ। –एजेन्सी

















