काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा तीव्र गतिमा ओरालो लागेको छ।
तथ्यांकअनुसार २०८१ को असार मसान्तमा कुल निक्षेपको ५६.४ प्रतिशत हिस्सा ओगटेको मुद्दति निक्षेप २०८२ मा घटेर ४८.३ प्रतिशत र २०८३ असार मसान्तसम्म आइपुग्दा ३५.३ प्रतिशतमा खुम्चिएको छ। तीन वर्षको अवधिमा मुद्दति निक्षेपको अंशमा २१.१ प्रतिशत विन्दुको भारी गिरावट आउनुले वित्तीय प्रणालीमा निक्षेपको संरचनामा ठूलो फेरबदल आएको प्रस्ट देखाउँछ।
मुद्दति निक्षेपको हिस्सा घट्नुको मुख्य कारण बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर निरन्तर घटाउनु नै हो। बजारमा अधिक तरलता थुप्रिएसँगै बैंकहरुले मुद्दति निक्षेपको ब्याजदरमा उल्लेख्य कटौती गरेपछि निक्षेपकर्ता लामो अवधिका लागि रकम बाँधेर राख्न अनिच्छुक देखिएका छन्।
यही प्रवृत्तिका कारण मुद्दति निक्षेप घट्दा साधारण बचतको अंश २०८१ को ३०.३ प्रतिशतबाट बढेर २०८३ मा ४७.० प्रतिशत पुगेको छ भने चल्ती खाताको हिस्सा ५.८ प्रतिशतबाट बढेर ८.१ प्रतिशत पुगेको छ।













