काठमाडौं । पछिल्लो ५ वर्षमा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष सवा २ गुणा बढीले बढेको छ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनअनुसार पछिल्लो ५ वर्षमा जीवन बीमकहरुको जीवन बीमा कोष सवा २ गुणा बढीले बढेको हो। समीक्षा वर्षमा कम्पनीहरुको जीवन बीमा कोषको आकार बढेर ६ खर्ब ८३ अर्ब १५ करोड पुगेको छ। यो अघिल्लो वर्ष २०७९।८० को तुलनामा २१.६० प्रतिशतले बढी हो भने आर्थिक वर्ष २०७६।७७ को तुलनामा २.३३ गुणाले बढी हो।
आर्थिक वर्ष २०७६।७७ मा कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ९३ अर्ब ८ करोड रुपैयाँ थियो भने अघिल्लो आर्थिक वर्ष २०७९।८० मा ५ खर्ब ६१ अर्ब ७९ करोड रुपैयाँ थियो। अघिल्लो वर्ष पनि कम्पनीहरुको जीवन बीमा कोषको आकार २१.४८ प्रतिशतले बढेको थियो।
तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा कम्पनीहरुको जीवन बीमा कोषको कारण लगातार २० प्रतिशत बढीले बढिरहेको छ। आर्थिक वर्ष २०७७।७८ मा जीवन बीमा कोषको आकार २८.११ बढ्दा २०७८।७९ मा २३.१७, २०७९।८० मा २१.४८ प्रतिशत र २०८०।८१ मा २१.६० प्रतिशतले बढेको छ।

















