काठमाडौं । संयुक्त राज्य अमेरिकाको लस एन्जलस काउन्टीमा गत जनवरी महिनामा भएका डढेलोका कारण आर्थिक क्षति ९५ अर्ब डलरदेखि १६४ अर्ब अमेरिकी डलर (२२९ खर्ब ७० अर्ब नेपाली रुपैयाँ)सम्म पुगेको नयाँ अनुमान सार्वजनिक भएको छ। यो आगलागी अमेरिकी इतिहासकै दोस्रो सबैभन्दा महँगो प्राकृतिक प्रकोप सिद्ध हुने सम्भावना छ।
जनवरी ७ मा सुरु भएका इटन र प्यालिसेड्स डढेलोले कम्तीमा २९ जनाको ज्यान लिएको छ। ३७ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ र १६ हजार संरचना ध्वस्त भएका छन्। जसमा ११ हजार एकल परिवार घर समावेश छन्।
मंगलबार सार्वजनिक गरिएको लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालय अर्थशास्त्री झियुन ली र विलियम यूले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार बीमित क्षति ७५ अर्ब डलर आँकलन गरिएको छ। उनीहरुको अनुमानअनुसार यो विपत्तिले २०२५ सम्ममा लस एन्जलसको कुल गार्हस्थ्य उत्पादनमा ४.६ अर्ब डलर (०.५ प्रतिशत) को गिरावट ल्याउनेछ।
डढेलोका कारण भएको क्षतिको असर क्यालिफोर्नियाको बीमा संकटमा थपिएको छ। धेरै ठूला बीमा कम्पनीले आफ्नो सेवा बन्द गरिसकेका छन्। जसले गर्दा केही घरमालिक पुनर्निर्माणका लागि पर्याप्त कोष नपाएर समस्यामा परेका छन्।
राज्य सरकारले संघीय सहायता प्राप्त गर्न प्रयास गरिरहेको छ। क्यालिफोर्नियाका डेमोक्र्याटिक गभर्नर ग्याभिन न्युसमले राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विभिन्न अधिकारीहरुसँग सहयोगका लागि आग्रहसमेत गरेका छन्।
एसिया इन्स्योरेन्स पोस्टका अनुसार ट्रम्पले गत महिना क्षति भएको क्षेत्रको भ्रमण गर्दा आग्निपीडितलाई ससर्त रुपमा संघीय सहायता दिने वाचा गरेका थिए। उनले भनेका थिए, ‘क्यालिफोर्नियाले आफ्नो जल व्यवस्थापन नीतिमा परिवर्तन र मतदाता पहिचान कानुन लागू गर्न सहमत भएमा मात्र प्रदान गरिनेछ।’ केही रिपब्लिकन सांसदले पनि सहायता सर्तहरुसहित प्रदान गरिन सक्ने बताएका छन्।
यो डढेलोको आर्थिक असर अमेरिकाको इतिहासमा दोस्रो ठूलो प्राकृतिक प्रकोप बन्ने अर्थशास्त्रीहरुको भनाइ छ। पहिलो स्थानमा सन् २००५ मा न्यु अर्लिन्समा आएको हरिकेन कट्रिना रहेको छ। जसले मुद्रास्फीति समायोजित २०० अर्ब अमेरिकी डलरको क्षति पुर्याएको थियो। क्यालिफोर्नियाको सबैभन्दा महँगो डढेलो भने २०१८ को क्याम्प फायर थियो। जसले करिब ३० अर्ब डलरको क्षति पुर्याएको अनुमान गरिएको छ।
डढेलोबाट भएको क्षतिको अनुमान र मूल्यांकन गर्ने विधिहरु फरक–फरक छन्। विश्वविद्यालयको अध्ययनले प्रत्यक्ष सम्पत्ति क्षति, सफाइ खर्च, सडक, पुल, ढल प्रणालीजस्ता पूर्वाधारमा भएको क्षतिलाई समेत समेटेको छ। रियल स्टेट सूचना सेवा कोरलोजिकले गत महिना प्रारम्भिक सम्पत्ति क्षति ३५ अर्बदेखि ४५ अर्ब डलर हुने अनुमान गरेको थियो।
विश्वविद्यालयका अर्थशास्त्रीहरुका अनुसार बीमित क्षतिले अग्निपीडितको कुल खर्चको मात्र सानो हिस्सामात्र बहन गर्न सक्छ। धेरै सम्पत्तिका मालिकहरु बीमाले पर्याप्त रुपमा बहन गरेको थिएन। जब कि कतिपयको बीमा समाप्ति भएको थियो वा निजी बीमा कम्पनीहरुले बीमा रद्द गरेका थिए।
अन्य केही घरमालिक क्यालिफोर्नियाको फेयर योजनामा समेटिएका थिए। यसले अधिकतम ३० लाख अमेरिकी डलरसम्म मात्र बहन गर्न सक्छ। यो रकम मालिबु वा प्यालिसेड्सजस्ता उच्च मूल्य भएका क्षेत्रका घरहरु पुनर्निर्माण गर्न पर्याप्त हुने छैन। प्रतिवेदनअनुसार डढेलो प्रभावित क्षेत्रका घरहरुको औसत मूल्य २० लाख डलर थियो।
एसिया इन्स्योरेन्स पोस्टका अनुसार डढेलोको असरले लस एन्जलसमा बीमा, बहाल खर्च र जीवनयापनको लागत बढ्ने सम्भावना छ। जुन आगलागी हुनुअघि नै धेरै महँगो थियो। क्यालिफोर्नियाको सबैभन्दा ठूलो बीमा कम्पनी स्टेट फार्मले सोमबार आफ्नो क्षति कभर गर्न आकस्मिक दरवृद्धिको माग गरेको छ।
डढेलोको अन्य असरमा वायु प्रदूषण, विषाक्त फोहोरजन्य स्वास्थ्य समस्या, व्यवसाय गतिविधिमा गिरावट, जनसंख्या पलायनजस्ता कुरा समावेश छन्। थप प्राकृतिक विपत्तिहरु रोक्नका लागि अग्नि नियन्त्रण प्रविधिमा लगानी, वन व्यवस्थापन सुधार, जल स्रोत व्यवस्थापन सुधार, विद्युत पूर्वाधार स्तरोन्नति, र घर संरचना मजबुत बनाउने योजना आवश्यक पर्ने विश्वविद्यालयका अर्थशास्त्रीहरुको निष्कर्ष छ।
यस्ता विपत्तिका कारण हुने खर्चहरु अत्याधिक उच्च हुने भएकाले हरेक रोकथाम उपाय आवश्यक र उचित हुने अर्थशास्त्रीहरुको धारणा छ।