काठमाडौं । सरकारी स्वामित्वको पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले दुई आर्थिक वर्षको साधारणसभा गर्न सकेको छैन।
नेपाल रिले आर्थिक वर्ष २०८०।८१ र २०८१।८२ को साधारणसभा गर्न नसकेको अवस्था छ। वित्तीय विवरण तयार गरि स्वीकृतिका लागि नियामक नेपाल बीमा प्राधिकरणले ढिलाइ गर्नेमात्र नभएर समयमै लेखापरीक्षणको कार्य सम्पन्न गर्न पनि नेपाल रि असफल हुँदै आएको छ। जसका कारण समयमै वार्षिक साधारणसभा गर्न कम्पनी असफल हुँदै आएको छ।
नेपाल रिको हिसाबकिताब पारदर्शी र भरपर्दो नभएको स्वयं बीमकले नै बताएका छन्। बीमकको जोखिम स्वीकारेबापत बीमकसँग लिनुदिनुपर्ने हिसाबबारे नेपाल रिको लेखापालन प्रणालीले भरपर्दो विवरण नदिएकाले साधारणसभा सम्पन्न गरिसकेका बीमकसँग नेपाल रिले पुरानै हिसाबबापतको रकम बक्यौता रहेको भन्दै दौडधुप गरिरहेको अवस्था छ।
नेपाल रिले ढिलोगरी भुक्तानी लिनुपर्ने रकम दाबी गर्दा साधारणसभाबाट आम्दानी खर्च हिसाब स्वीकृत भइसकेकाले बीमकले रकम भुक्तानी दिन अस्वीकार गरिरहेका छन्। बीमा ऐन, २०७९ को प्रावधान अनुसार बीमकले त्रैमासिक वित्तीय विवरण प्रत्येक त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र प्राधिकरणमा पेस गर्नुपर्छ। प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा–नोक्सानको विवरण अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेस गर्नुपर्छ।
संस्थागत सुशासन र वित्तीय पारदर्शीताका लागि ऐनमै त्रैमासिक र लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने म्याद तोकिएको हो। ऐनमा यति प्रस्ट रुपमा प्रावधान गरिए पनि बीमकप्रति कानुनले निर्दिष्ट गरेबमोजिमको कारबाही गर्न नेपाल बीमा प्राधिकरण निरीह देखिएको छ।
बीमकले समयमै लेनदेनको विवरण पेस नगरेको, लिनुदिनुपर्ने हिसाबकिताब फछ्र्यौट गर्न बाँकी रहेको विषय पटक–पटक बहानाका रुपमा अघि सार्ने गरिएको छ। एकपटक समस्याका रुपमा पहिचान भएको समस्या पुनः दोहोरिएको अवस्थामा तत्कालै सम्बन्धित बीमक वा पुनर्बीमकको नेतृत्वलाई प्राधिकरणले कारबाही नगर्दासम्म ढिलासुस्ती जारी रहनेछ र झन् झन् अपारदर्शिता बढ्नेछ।
नेपाल रिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा अब छिट्टै ती दुवै आर्थिक वर्षको साधारणसभा डाकिने बताउँछन्। ‘कम्पनीको क्वान्टेटिभ रेगुल्यारिटी रिपोर्ट टेम्प्लेट्स (क्यूआरआरटी) बीमा प्राधिकरणबाट स्वीकृत हुने क्रममा छ’, उनले भने, ‘अर्को सातासम्म प्राधिकरणले क्यूआरआरटी पनि स्वीकृत गर्छ होला।’
त्यसपछि लगत्तै साधारणसभा आह्वान गरिने सीईओ थापाको भनाइ छ। ‘लगभग १५ दिनभित्रै साधारणसभा डाक्छौँ’, उनले भने।
बीमा प्राधिकरणकी प्रवक्ता एवं निर्देशक पुजन ढुंगेलले भने एक्चुअरियल भ्यालुएसनसम्बन्धी विवरण पेस गर्न ढिलाइ गरेकै कारण नेपाल रिले साधारणसभा समयमा सम्पन्न गर्न नसकेको बताइन्। ‘भर्खरै नेपाल रिle! एक्चुअरियल भ्यालुएसन विवरण पेस गरेको छ’, उनले भनिन्, ‘अब छिट्टै एक्चुअरियल भ्यालुएसनसँगै कम्पनीको वित्तीय विवरण स्वीकृत गर्ने तयारीमा बीमा प्राधिकरण रहेको छ।
समयमै आवश्यक विवरणहरु पेस नगरेपछि प्राधिकरणले कम्पनीका सीईओलगायतका प्राधिकरणलाई बोलाएर सचेत गराइएको पनि ढुंगलले जानकारी दिइन्। ‘त्यसपछि कम्पनीले विवरणहरु पेस गरिहाल्यो’, उनले भनिन्।












