काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वस्थ्यता मन्त्रालयले अस्पतालहरूमा असाह्य बिरामीका लागि निःशुल्क उपलब्ध गराइने उपचार सेवा र शैय्या सम्बन्धी सुविधाका लागि सम्पर्क व्यक्तिहरूको फोन नम्बर सहितको नामावली सार्वजनिक गरेको छ।
निःशुल्क उपचार सेवा दिलाउनका लागि सम्बन्धित अस्पतालका कुन व्यक्तिसँग सोधीखोजी र सम्पर्क गर्ने भन्ने विवरणबारे सर्वसाधारणले जानकारी नपाउँदा अन्याैल भएको र उपचार सुविधा जुटाउन सकस भइरहेको गुनासो पछि मन्त्रालयले प्रत्येक अस्पतालका सम्बन्धित व्यक्तिको नाम र फोन नम्बर सहितको सूची प्रकाशन गरेको हो।
नेपाल सरकारले स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० घ मा “अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीका लागि कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा उपलव्ध गराउनु पर्नेछ” भन्ने व्यवस्था गरेको छ। यही व्यवस्था अन्तर्गत सार्वजनिक तथा निजी सबै खाले अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्छ।

कुन अस्पतालमा कति वटा निःशुल्क शैय्या उपलबन्ध छ भन्ने जानकारी सर्वसाधारणलाइ सहजरूपमा उपलब्ध गराउन मन्त्रालयले निःशुल्क स्वास्थ्य पोर्टल Free Health Dashboard – Ministry of Health and Food Safety सञ्चालनमा ल्याएको छ। यो पोर्टलमा बिरामीले कुन कुन अस्पतालमा विपन्न, असहायका लागि कति वटा शैय्या(बेड) उपलब्ध छ र कति वटा खाली छ भन्ने जानकारी उपलब्ध हुन्छ।
यसको कार कार्यन्वयनको लागि अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहूच योग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको हो ।
नेपालको संविधान २०७२ को धारा ३५ ले पनि प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने संवैधानिक व्यवस्था रहेको छ।












