IME Life New

ग्रामीण क्षेत्रका जीवन बीमा अभिकर्ताले व्यापार बढाउन केमा ध्यान दिनुपर्छ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको जीवन बीमा बजारको बहुसंख्यक बीमित ग्रामीण क्षेत्रबाट प्रतिनिधित्व गर्छन्। र जीवन बीमाका लागि संभावित बीमितहरूको ठूलो संख्या अझै पनि ग्रामीण क्षेत्रमै छ।

ग्रामीण क्षेत्रका बीमितको बचत र क्रय क्षमता सीमित हुने भएकाले शहरी र व्यापारी बीमितसरह उनीहरूले ठूलो बीमाङ्कको जीवन बीमालेख खरिद गर्न सक्दैनन्। स सानो बचतबाट संभव हुने सामान्य बीमाङ्कको बीमालेख नै उनीहरूको पहुँचमा हुन्छ। तर जीवन बीमकले बिक्री गरेको बीमालेखको संख्याका हिसाबले मात्र नभएर समग्र जीवन बीमा व्यवसायमा योगदानको हिसाबले ग्रामीण समुदायको योगदान शहरी समुदायको भन्दा बढी छ।

Crest

ग्रामीण क्षेत्रमा कार्यरत बीमा अभिकर्ताले बीमाको अत्यन्तै आवश्यक्ता हुने दुरदराजका घरदैलोसम्म पुगेर बीमाको महत्व बुझाउँदै, बीमाबारे सिकाउँदै बीमाका लागि प्रेरित गर्छन्। शहरी क्षेत्रमा काम गर्ने अभिकर्ताको तुलनामा उनीहरूको मिहिनेत अधिक हुन्छ, यसको विपरित उनीहरूले आर्जन गर्ने बीमाशुल्क र कमिशनवापतको रकम थोरै हुन्छ।

शहरी क्षेत्रका अभिकर्ताले धनी र विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरूको ठूलो बीमाङ्कको बीमा गर्ने अवसर पाउने भएकाले नै ग्रामीण अभिकर्ताभन्दा शहरी अभिकर्ताको कमाइ अधिक हुनु स्वाभाविक हो। तर, विपन्न समुदायको वित्तीय सुरक्षामा पहुँच बढाउने योगदानका हिसाबले ग्रामीण अभिकर्ताको भूमिका शहरी अभिकर्ताको भन्दा धेरै गुणा बढी छ।

नेपालमा बीमाको व्यापक विस्तारका लागि शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा मिहिनेती र व्यवसायीक अभिकर्ताहरूको खाँचो छ। ग्रामीण भेगमा काम गर्ने अभिकर्ताहरूले सामना गर्नुपर्ने चुनाैतीहरूको समाधानको उपायबारे सुझाव यहाँ समावेश गरिएको छः

ग्रामीण भेग वा अर्द्ध शहरी क्षेत्रमा न्यून औसत बीमाशुल्क आकार, छरिएको बस्ती, व्यक्तिगत सम्बन्धहरूमा अधिक निर्भरता, न्यून बीमा साक्षरताको चुनाैती व्याप्त हुन्छ। यस्तो अवस्थामा व्यक्तिगत बीमाशुल्क थोरै भए पनि बिक्रीको परिमाण बढाउनेतर्फ अभिकर्ताले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ।

१ लाख, २ लाख वा ३ लाख रूपैयाँको बीमाङ्कको जीवन बीमा गराउन सकेको अवस्थामा पनि यसले क्रमशः सफलता तिर डाेर्‍याउँदै लैजान्छ। यो अङ्कको बीमाङ्क अहिलेको महँगी र भविष्यको मूल्य वृद्धिको तुलनामा एकदमै थोरै भएपनि बीमितलाई बीमाको महत्व बुझाउन, बचत गर्ने बानी बसाल्ने दिशामा महत्वपूर्ण हुन्छ। कुनै पनि व्यक्तिले जबसम्म जीवन बीमा गर्दैन, तबसम्म बीमाबारे सहि बुझाइ कायम गर्न सक्दैन।

ग्रामीण अभिकर्ताले आफ्नो कार्य क्षेत्रभित्रको प्रत्येक घर दैलो, कार्यालय, व्यापार व्यवसायसम्म पुगेर बीमाको बारेमा बुझाउने, उनीहरूको धारणा र समस्या बुझ्ने, समाधानका विकल्पहरूबारे जानकारी दिने काम अटुटरूपमा जारी राख्नुपर्छ।

समूह बैठकहरू:

ग्रामीण क्षैत्र वा अर्द्ध शहरी क्षेत्रहरूमा साना तर स्थानीयबासिन्दाहरूका बीच प्रभाव पार्न सक्ने कुनै पनि सामाजिक समूहसँग मिलेर बीमा जागरण, वित्तीय साक्षरता, बैंक खाता खोल्ने विषयहरूमा बैठकहरू आयोजना गर्नुहोस्, उनीहरूलाई स सानो जिज्ञासा मेटाउने अवसर दिनुहोस्।

बैंक खाता खोल्ने, बीमा गर्ने, अभिकर्ता बन्ने शिप सिकाउन पछि नपर्नुहोस् । यो कामका लागि ग्रामीण अभिकर्ताले कुनै सामुदायीक संस्था, आमा समूह, टोल सुधार समिति, सहकारी संस्था, बचत समूहको नेतृत्वको सहयोग माग्न नहिच्किचाउनुहोस्, अनिमात्र संभव हुन सक्छ। संभावित बीमितलाई बीमा र वित्त बारे शिक्षित गर्न र एउटै कार्यक्रमबाट धेरै संभावित बीमित पहिचान गर्न यो एउटा प्रभावकारी उपाय हुनेछ।

पारिवारिक भावना:

परिवारको सुरक्षा, नवजात शिशुको जन्म, वैवाहिक अवस्थामा परिवर्तन, नयाँ जागिर,  यी सबै कुनै पनि व्यक्तिलाई बीमाको लागि प्रेरित गर्ने भावनात्मक अवस्थाहरू हुन्।

स्थानीय सिफारिशः

परिचयको लागि गाउँका अध्यक्ष, वडा अध्यक्ष, शिक्षकहरू, स्थानीय व्यापारीहरूमार्फत गाउँलेहरूमाझ आफ्नो पहिचान विस्तार गर्दै जानुहोस् । नेपाली समाज अपरिचितसँग परिचित हुन र परिचित भएपछि सहयोगी हात अघि बढाउन सदैव तत्पर रहने सकारात्मक स्वभावको समाज भएकाले तपाईले अपरिचित ठाउँमा कसरी पहिचान बनाउने भनेर चिन्ता मान्नु पर्दैन। पहिचान बनाउने प्रयास गरे पुग्छ। एकदमै नयाँ गाउँ ठाउँमा जानु भएको छ भने त्यहाँ अभिकर्ताका रूपमा परिचय शुरू गर्नु अघि त्यहाँको गाउँ समाजबारे बुझ्ने प्रयास गर्नुहोस्। पसल चाैतारामा आफू पनि उपस्थित भएर गाउँलेका भलाकुसारी जिज्ञासापूर्वक सुन्दै घुलमिल गर्ने प्रयास गर्नुहोस्, परिचय स्थापित गर्नुहोस् ।

योजना सहितको यात्रा:

सम्भावितहरू घरदैलो वा व्यक्तिहरू भेटघाट गर्न निस्किनु अघि समय, स्थान, दुरी र यातायातको उपलब्ध साधनबारे जानकारी लिएर उपयुक्त रूट निर्धारण गरेर मात्र घरबाट निस्किनुहोस् ।

सरल भाषा:

ग्रामीण क्षेत्रका बासिन्दाहरूले वित्तीय शब्द वा बीमाका शब्दहरूको अर्थ बुझेका हुँदैनन् । उनीहरूका लागि तपाइले सरल रूपमा बुझाउने गरी शब्द र उदाहरणहरूको चयन गर्नुपर्छ।

विश्वास निर्माण गर्नुहोस्:

बीमा भनेको विश्वासको व्यापार हो। तपाईले आफ्नो र आफूले प्रतिनिधित्व गर्ने कम्पनीको विश्वास बेचेर बीमितलाई बीमाका लागि प्रेरित गरिरहनुहुन्छ। त्यसैले तपाइले निरन्तर र इमानदारीपूर्वक बीमितलाई सेवा उपलब्ध गराउनुहोस् । ।

वार्षिक भुक्तानी विधि:

वार्षिकरूपमा बीमाशुल्क भुक्तानी गर्दाका फाइदाहरू स्पष्ट रूपमा जानकारी दिनुहोस्। जस्तै कम झन्झट र चर्को जरिवानाबाट जोगिने उपाय। सीमित बचत हुने बीमितलाइ बचत समूह वा लघु वित्तमा नियमित बचत गरेर वार्षिकरूपमा एकमुष्ठ झिकेर बीमाको किस्ता भुक्तानी गर्न सकिने उपायबारे सिकाउनुहोस् । लघु वित्त वा बचत समूहमा खाता खोल्ने तरिका सिकाउनुहोस्, बचत गर्न सिकाउनुहोस् ।

बाली बिक्री पछिको समयलाई विशेष प्राथमिकताः

किसानले बाली बिक्री गरेर पैसा भित्र्याउने समयमा किसानसँग पर्याप्त नगद प्रवाह हुन्छ। यस्तो समयमा बीमाका लागि उनीहरूलाइ प्रेरित गर्दा उपयुक्त हुनसक्छ। त्यसैगरी जडीबुटी र स्याउको खेती हुने कर्णाली प्रदेश जस्तो क्षेत्रका बासिन्दालाई उनीहरूले साैदा बेच्ने समयमा बीमाका लागि प्रेरित गर्दा उपयुक्त हुन्छ। सुदुरपश्चिमका लागि चाहिँ भारतबाट रोजगारीपछि चाडपर्व मनाउन पैसा कमाएर घर फर्किने प्रवृत्ति भएकाले यो समय उपयुक्त हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS