IME Life New

शेयर धितो कर्जातर्फ बढ्दो आकर्षणले कस्तो पार्छ प्रभाव ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अर्थतन्त्र पछिल्ला वर्षमा सुस्तिँदै गएको छ। औद्योगिक तथा व्यापारिक क्षेत्रले अपेक्षित कर्जाको माग गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरुले नयाँ लगानी क्षेत्रको खोजी गर्न थालेका छन्। यही क्रममा उनीहरुको ध्यान शेयर बजारतर्फ केन्द्रित भएको छ।

विगतका केही महिनायता बैंकहरुले सस्तो ब्याजदरमा शेयर कर्जा उपलब्ध गराउँदै आइरहेका छन्। अझ मौद्रिक नीतिमा आएको लचकताले गर्दा शेयर धितो कर्जा विस्तार तीव्र गतिमा बढेको छ।

Crest

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल ७३ खर्ब ३ अर्ब ५३ करोड निक्षेपमध्ये ५५ खर्ब ८१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यसमध्ये मात्रै १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ शेयर धितो कर्जाका लागि प्रवाह भएको छ। अघिल्लो वर्षको तुलनामा यो रकम ५० अर्बभन्दा बढीले वृद्धि भएको तथ्यांकले देखाउँछ।

विशेषगरी वाणिज्य बैंकहरु यस क्षेत्रमा अग्रणी देखिएका छन्। गत वर्ष उनीहरुले मात्र १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्। जुन अघिल्लो वर्षभन्दा करिब ४६ अर्बले बढी हो। विकास बैंकहरुले १९ अर्ब ५४ करोड र वित्त कम्पनीहरुले ४ अर्ब ३५ करोड रुपैयाँ शेयर धितोमा लगानी गरेका छन्।

पछिल्लो समय ब्याजदर एकल अंकमै सीमित भएकाले लगानीकर्तालाई कर्जा लिन सहज भएको देखिन्छ। कृषि विकास बैंकले न्यूनतम ५.८४ देखि अधिकतम ८.३४ प्रतिशतसम्म, एभरेष्ट बैंकले ६.२७ देखि ८.२७ प्रतिशतसम्म, राष्ट्रिय वाणिज्य बैंकले ६.३ देखि ६.८ प्रतिशतसम्म, सिद्धार्थ बैंकले ६.३४ देखि ९.५९ प्रतिशतसम्म र सिटिजन्स बैंकले ६.३५ देखि ९.३५ प्रतिशतसम्म ब्याजदरमा शेयर कर्जा उपलब्ध गराइरहेका छन्। यीबाहेक प्रायः बैंकले शेयर कर्जामा न्यून ब्याजदर नै कायम गर्दै आएका छन्।

मौद्रिक नीतिको लचकता र बजारमा यसको प्रभाव

राष्ट्र बैंकले गत वर्ष मौद्रिक नीतिमार्फत शेयर बजारलाई प्रोत्साहन गर्ने कदम चालेको थियो। शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमा झारिएको छ। व्यक्तिगत लगानीकर्ताको कर्जा सीमा २५ करोड रुपैयाँसम्म बढाइएको छ भने संस्थागत लगानीकर्ताका लागि कुनै सीमा नै तोकिएको छैन। यसले शेयर बजारमा थप कर्जा विस्तार गर्न सहज बनाएको लगानीकर्ताहरु बताउँछन्।

कर्जा विस्तारसँगै शेयर कारोबारमा वृद्धि भएको छ। यसबाट सरकारले गत आर्थिक वर्षमा मात्रै १६ अर्ब ५४ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ। अघिल्लो वर्ष १८०० को विन्दुमा झरेको नेप्से सूचक २०८१ साउनमा बढेर ३००० को विन्दुसम्म पुगेको छ।

यद्यपि लगानीकर्ता र जानकारहरुले भनेअनुसार शेयर बजार अझै बढ्न सकेको भने छैन। ३००० को विन्दु माथि पुग्ने अनुमान गरिए पनि अहिले यो सम्भावना तत्काललाई टर्दै गएको जानकारहरु बताउँछन्। ‘अब चाडपर्वको समयमा बजार थप घट्ने र त्यसपछि दोस्रो त्रैमासको दबाब पर्ने अवस्था सिर्जना हुन्छ’, एक जानकारी भन्छन्, ‘यदि शेयर बजार बढ्ने हो भने त्यसपछि मात्रै बढ्न सक्छ।’

शेयर धितो कर्जाको विस्तारले बजारमा लगानीकर्ताको पहुँच बढाएको छ। तर, यससँगै जोखिम पनि उत्तिकै बढेको छ।

लगानीकर्ताले कर्जा लिएर शेयर बजारमा अत्यधिक निर्भर हुने हो भने बजारमा उतारचढाव आउँदा बैंकहरुको कर्जा सुरक्षामा समेत प्रश्न उठ्न सक्छ। यसका बाबजुद पनि बैंकहरुले निष्क्रिय तरलता घटाएर लाभ हुने क्षेत्रमा लगानी गर्नुपर्ने रणनीति लिएका छन्।

हाल शेयर बजारमा नयाँ–नयाँ आइपीओ आउने क्रम बढेको छ। ब्याजदरको सहजता, मौद्रिक नीतिको लचकता र बैंकहरुको आक्रामक कर्जा प्रवाहले बजारमा आशावादी माहोल सिर्जना भएको छ। तर, यो विस्तार दीर्घकालीन रुपमा दिगो बनाउन नियमनकारी निकाय र लगानीकर्ताले सावधानी अपनाउन आवश्यक देखिन्छ। अन्यथा, अल्पकालीन लाभतर्फ मात्र केन्द्रित यो प्रवृत्ति भविष्यमा अर्थतन्त्रकै लागि चुनौती बन्न सक्ने विज्ञहरुले समेत औँल्याउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS