काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज) सम्म सवा ६३ अर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिना असोजसम्म बीमा कम्पनीहरुले ६३ अर्ब २९ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोजसम्म बीमा कम्पनीहरुले ५२ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमा कम्पनीहरुको व्यवसाय १९.७० प्रतिशतले बढेको छ।
हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन्।
तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोजसम्म ५० अर्ब ३६ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा २१.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।
चालु आर्थिक वर्षको असोजसम्म कम्पनीहरुले १० अर्ब ६६ करोड १५ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ३९ अर्ब ७० करोड ५८ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ८ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ३२ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क २७.२४ प्रतिशत र नवीकरण बीमाशुल्क २०.६१ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ५९ लाख ९ हजार १३५ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सक्रिय बीमालेख संख्या १ करोड ३७ लाख ६६ हजार ४४८ वटा थियो। बीमालेख संख्या १५.५६ प्रतिशतले बढेको छ।
यसैगरी समीक्षा अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ११.६७ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५९ लाख ९ हजार ९२२ वटा रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा ३.९३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यो संख्या ५९ लाख ९० हजार १८६ वटा थियो।
चालु आर्थिक वर्षको असोजसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७६ लाख ४३ हजार ७७१ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २४ लाख ५५ हजार ४४२ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ५९ लाख ८९ हजार ७०५ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २१ लाख ८६ हजार ५५७ वटा थियो। अघिल्लो वर्षको तुलनामा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या २७.६२ प्रतिशत र वैदेशिक रोजगार बीमालेख संख्या १२.३० प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या बढेर ४९.०५ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या ४२.८५ प्रतिशत थियो।

















