IME Life New

पुनर्बीमामा सन्धी बीमा भनेको के हो ? यसले कसरी काम गर्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरूले आफूले सकारेको जोखिमको बाँडफाँडका लागि पुनर्बीमा व्यवस्थाको सहारा लिनुपर्छ। पुनर्बीमामा एउटा बीमा कम्पनीले अर्को बीमा कम्पनी वा पुनर्बीमा कम्पनीलाई आफ्नो जोखिमको अधिकांश वा आंशिक हिस्सा हस्तान्तरण गर्छ।

यसरी एउटा बीमा कम्पनीले अर्को बीमा कम्पनीलाई जोखिम हस्तान्तरण(पुनर्बीमा) गर्दा जोखिम हस्तान्तरण गर्ने कम्पनी(सीडिङ कम्पनी) ले तोकिए बमोजिमको बीमाशुल्क भुक्तानी गर्नुपर्छ। यस्तो शुल्कलाई सामान्य भाषामा पुनर्बीमा शुल्क भनिन्छ। सीडिङ  कम्पनीले आफूले सकारेको जोखिमको अंश पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्ने बीमा कम्पनीलाई जनाउँछ।

Esewa
Crest

पुनर्बीमामा सामान्यतयाः दुई प्रकारको करार सम्झाैतामार्फत् जोखिम हस्तान्तरण हुन्छ, ट्रिटी रिइन्स्योरेन्स अर्थात् सन्धी पुनर्बीमा र अर्को फ्याक्लटेटिभ (संकाय) पुनर्बीमा। कतै कतै संकाय पुनर्बीमालाई ऐच्छिक पुनर्बीमा पनि उल्लेख गरिएको पाइन्छ।

सन्धी पुनर्बीमा(Treaty Reinsurance):

सन्धी पुनर्बीमा भनेको एउटा दीर्घकालीन सम्झौता हो, जसअन्तर्गत बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीच पहिले नै एउटा वृहद सम्झाैता हुन्छ। यस अन्तर्गत, बीमा कम्पनीले आफ्नो निश्चित वर्गका सबै बीमाहरू पुनर्बीमा कम्पनीसँग स्वचालित रूपमा बाँड्न सक्छ।

कुनै पनि बीमाको शुरूवाती निश्चित सीमासम्मको जोखिम बीमा कम्पनी स्वयमले व्योहर्ने र त्यो सीमाभन्दा माथिको जोखिम स्वतः पुनर्बीमा कम्पनीमा हस्तान्तरण हुने व्यवस्था सन्धी पुनर्बीमामा गरिएको हुन्छ। उदाहरणका लागि कुनै बीमा कम्पनीले १ करोड रूपैयाँ बीमाङ्कको जोखिम स्वीकारेको छ र, प्रति बीमालेख स्वधारण क्षमता २० लाख रूपैयाँ छ भने बाँकी ८० लाख रूपैयाँ बराबरको जोखिम पुनर्बीमा कम्पनीमा हस्तान्तरण हुन्छ।

बीमाङ्क रकमको आधारमा नभएर स्वीकृत जोखिमको बीमाङ्कको प्रतिशतका आधारमा पनि जोखिम बाँडफाँडको सहमति हुन्छ। यदि एउटा बीमा कम्पनीले आफ्नो सम्पूर्ण “मोटर बीमा पोर्टफोलियो” को ५० प्रतिशत जोखिम पुनर्बीमामा सन्धी अन्तर्गत बाँडेको छ भने, त्यस कम्पनीले जारी गरेका सबै मोटर बीमालेखहरूमा पुनर्बीमा कम्पनी स्वतः ५० प्रतिशत बराबरको जोखिम बहन गर्न जिम्मेवार हुन्छ।

दुबै खाले बीमा कम्पनीहरूबीच पहिले नै सम्झौता हुन्छ — बीमा कम्पनीले कुन–कुन प्रकारका बीमाहरू पुनर्बीमा गर्ने भनेर सम्झौता गर्छ।

सन्धी पुनर्बीमा दीर्घकालीन प्रकृतिको सम्झाैतामा आधारित हुन्छ। यसले बीमा कम्पनीलाई दीर्घकालीन स्थायीत्व सुनिश्चित गर्छ। पुनर्बीमा कम्पनीका लागि पनि दीर्घकालसम्मका लागि व्यवसायको सुनिश्चितताको प्रत्याभूति हुन्छ।

सन्धी पुनर्बीमामा एक पटक दुई बीमा कम्पनीबीच सम्झाैता पत्रमा हस्ताक्षर भइसकेपछि यसको म्याद भइञ्जेलका लागि सम्झाैतामा तोकिएका विशेषता र बीमाङ्क रकमको सीमाका बीमालेखहरूको जोखिम स्वतः पुनर्बीमकमा हस्तान्तरण हुन्छ। यसरी जोखिम हस्तान्तरण गर्नुपूर्व बीमकले पुनर्बीमकलाई जोखिमको प्रकृति, शर्त र बीमाङ्क रकमबारे लिखित जानकारी गराउनुपर्छ।

बीमा कम्पनीबाट प्राप्त प्रस्तावका आधारमा पुनर्बीमकले जोखिम स्वीकार गर्न, बीमाङ्क संशोधन गर्न वा प्रस्ताव अस्वीकृत गर्न राय दिने चलन रहेको छ। प्राप्त रायको आधारमा बीमा कम्पनीले बीमाको जोखिम स्वीकार्ने वा नस्वीकार्ने निर्णय लिनुपर्छ।

यस्तो बीमालेख अन्तर्गत बहन गर्ने जोखिमको प्रकृति र बीमाङ्क रकमको सीमाबारे दुबै बीमा कम्पनीबीच सन्धी पुनर्बीमाका शर्तहरूमा नै व्याख्या गरिएको हुन्छ। त्यसैले यसबारे हरेक पटक शर्तहरूको आदान प्रदान गर्नु पर्दैन। यसले बीमक र पुनर्बीमक दुबै पक्षलाई स्वतः जोखिम हस्तान्तरण गर्न र जोखिम स्वीकार स्वचालितरूपमा काम गर्न सहजीकरण गर्छ।

संकाय पुनर्बीमा(Facultative Reinsurance):

संकाय पुनर्बीमा सन्धी पुनर्बीमा जस्तो निरन्तर प्रकृतिको नभएर खण्डित प्रकृतिको हुन्छ। अर्थात विप्रेषण–आधारित हुन्छ। जसमा बीमा कम्पनी प्रत्येक बीमालाई पुनर्बीमा कम्पनी समक्ष बेग्लाबेग्लै पुनर्बीमाको प्रस्ताव गर्नुपर्छ र स्वीकृति प्राप्त गर्नुपर्छ।

यस्तो पुनर्बीमा प्रायः नियमित प्रकृतिको बीमालेख वा जोखिमको लागि नभएर विशेष प्रकृतिको जोखिम वा बीमालेखको हकमा मात्र अघि सारिएको हुन्छ। उदाहरणका लागि, क्रिकेटसँग सम्बन्धित घरेलु प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) खेलसँग सम्बन्धित सम्पूर्ण प्रकृतिको जोखिमको बीमालाइ लिएर संकाय पुनर्बीमा हुनसक्छ।

यस्तो जोखिम प्रतियोगिता अवधिभरका लागि मात्र हुने भएकाले विशेष सम्झाैताको आवश्यकता पर्न सक्छ। विदेशी आगन्तुक खेलाडीको बीमा, खेल रद्द भएको अवस्थामा क्षतिपूर्ती दिने, खेलको प्रत्यक्ष प्रशारणमा अवरोध भएमा क्षतिपूर्ती दिने, खेलमा सहभागी अन्य टोलीको दुर्घटना बीमा, खेल अवरूद्ध हुँदा आयोजकलाई हुन सक्ने नोक्सानीको क्षतिपूर्ती, मैदानको भाैतिक पूर्वाधारमा हुन सक्ने क्षतिको जोखिम बहन गर्नका लागि बेग्लै र विशेष प्रकृतिको पुनर्बीमा गर्नुपर्दा प्रत्येक प्रतियोगिताको लागि नेपाली बीमकले पुनर्बीमा कम्पनीसँग सम्झाैता गर्नुपर्छ।

बीमा कम्पनीले प्रत्येक पटक ठूलो वा विशेष प्रकृतिको जोखिमको लागि पुनर्बीमा कम्पनीलाई प्रस्ताव पठाउँछ। पुनर्बीमा कम्पनीले त्यो विशेष जोखिम स्वीकार गर्न वा अस्वीकार गर्न सक्छ। बीमा कम्पनीलाई पुनर्बीमा प्रस्ताव गर्ने वा नगर्ने र पुनर्बीमा कम्पनीलाई प्रस्ताव स्वीकार्ने वा अस्वीकृत गर्ने स्वतन्त्रता हुन्छ।

सन्धि पुनर्बीमाको तुलनामा यो अलिक लामो र झण्झटिलो प्रकृयामा आधारित हुन्छ। प्रत्येक बीमाका लागि बेग्लै कागजी प्रक्रिया पुरा गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS