काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवा प्रवाहमा नियमविपरीत कार्य भएमा कारबाही गर्ने चेतावनी दिएको छ। बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो चेतावनी दिएको हो।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा–सुविधा एवं औषधि उपलब्ध नगराइएको भन्ने सम्बन्धमा प्राप्त गुनासाप्रति गम्भीर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ। ती कार्य स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रचलित कानुनविपरीत रहेको बोर्डले स्पष्ट पारेको छ।
त्यस्ता गतिविधि नगर्न र नगराउन तथा प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधि पूर्ण रुपमा पालना गर्न बीमा बोर्डले निर्देशन दिएको छ।
यसका साथै अनुगमनका क्रममा कुनै पनि सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐनको दफा १२ को उपदफा (१) खण्ड (ख)बमोजिम कारबाही हुने परिपत्रमार्फत चेतावनी दिइएको छ। बीमा ऐनको दफा १२ नियमविपरीत कार्य गर्ने सेवा प्रदायक स्वास्थ्य संस्थाको सम्झौता रद्द गर्न सकिने प्रावधान रहेको छ।












