काठमाडौं । सामसङ मोबाइलले नेपाली उपभोक्तालाई किस्ताबन्दीमा मोबाइल फोन उपलब्ध गराएसँगै व्यापारमा उल्लेख्य वृद्धि अनुभव गरेको छ। सामसङको बढ्दो बजार माग देखेर आकर्षित हुँदै अन्य प्रतिस्पर्धी ब्राण्डहरू पनि क्रमशः मासिक किस्ता बन्दीमा स्मार्ट मोबाइल फोन बिक्री सेवा शुरू गर्न थालेका छन्।
सामसङको नेपालस्थित दुई आधिकारिक बिक्रेता आइएमएस र गोल्छा समूहले हुलास फाइनान्स लिमिटेडमार्फत किस्ताबन्दीमा मोबाइल बिक्री गरिरहेका छन् । सामसङको जुनसुकै बिक्रेताबाट पनि ग्राहकले सहजै किस्ताबन्दी सुविधा लिन सक्छन् ।
किस्ताबन्दीमा मोबाइल खरिद गर्नका लागि मूल्यको कम्तीमा ४० प्रतिशत तत्कालै भुक्तानी गर्नुपर्छ र बाँकी रकम किस्ताबन्दीमा ६ देखि १२ महिनाको अवधिभित्र भुक्तानी गर्नुपर्छ। किस्ताबन्दीमा मोबाइल खरिद गर्नका लागि ग्राहकले आफ्नो सक्कली नागरिकता वा पासपोर्टसँगै एकजना जमानतकर्तालाई उसको नागरिकता वा पासपोर्टसहित लिएर नजिकको वितरक कहाँ निवेदन दिनुपर्छ। बिक्रेताले दुबैजनालाई कर्जाको तमसुकमा सही छाप गर्न लगाएर मोबाइल हस्तान्तरण गरिदिन्छ।
हाम्रो बजार डटकमले फोनपेसँगको सहकार्यमा ६ महिनाको किस्ताबन्दीमा मोबाइल लगायतका विद्युतीय उपकरणहरू उपलब्ध गराई रहेको छ। हाम्रो बजारको बाइ नाउ पे लाटर भन्ने अप्शनमार्फत ग्राहकले किस्ताबन्दीमा वान प्लस, एप्पल र सामसङ ब्राण्डका मोबाइल खरिद गर्न सक्छन् ।
सिजी डिजिटलले नबिल बैंक, एनआइसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, हिमालयन बैंक र ग्लोबल आइएमइ बैंकका क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकलाई किस्ताबन्दीमा मोबाइल खरिद गर्न सुविधा दिई रहेको छ । सिजी डिजिटलले अहिले आइफोन, नथिङ र सिएमएफ ब्राण्डका मोबाइलहरू बिक्री गरिरहेको छ। किस्ताबन्दी सुविधा रू १५ हजार भन्दा बढी रू २ लाखसम्मको मूल्यका मोबाइल फोनको हकमा मात्र उपलब्ध छ। सामसङ मोबाइलमा जस्तो सिजि डिजिटलबाट मोबाइल सेट खरिद गर्न तत्काल भुक्तानी(डाउन पेमेण्ट) गर्नुपर्दैन।
वन प्लसले पनि हालै गुडविल फाइनान्ससँगको सहकार्यकमा किस्ताबन्दीमा मोबाइल फोन बिक्री शुरू गरेको छ। चल्तीका साओमी, ओप्पो ब्राण्डका मोबाइलहरू सीमित स्थानबाट किस्ताबन्दीमा उपलब्ध रहेको छ।
तपाईले पुरानो मोबाइल साटेर किस्ताबन्दीमा नयाँ मोबाइल फोन खरिद गर्ने योजना बनाउनुभएको छ भने सबको फोन र आर्को स्टोरको वेबसाइटबाट आफ्नो पुरानो मोबाइलको भाउ लिन सक्नुहुन्छ। चित्त बुझेको अवस्थामा तपाईले निर्धारित मूल्यमा आफ्नो पुरानो मोबाइल फोन बेचेर नयाँ फोनको तत्काल भुक्तानीका लागि यस्तो रकमको प्रयोग गर्न सक्नुहुन्छ।
किस्ता न तिरे के हुन्छ मोबाइलः
किस्ताबन्दीमा मोबाइल लिएर गएकाहरूले किस्ताबन्दी वापतको रकम भुक्तानी नगरेको अवस्थामा वितरक कम्पनीले मोबाइल लक गरिदिन्छ र कुनै पनि सिम हालेर नचल्ने अवस्था बनाई दिन्छ। त्यसैले अाफ्नो अाम्दानी र बचत कति हो, त्यो राम्ररी जाँच्नुपर्छ। यसबाहेक मोबाइल फोन किस्ताबन्दीमा किन्दा सकेसम्म तलब अाउने मिति वा एक हप्ताभित्रको समय पारेर किन्नु उपयुक्त हुन्छ। यसो गर्दा तलब पाएलगत्तै किस्ता भुक्तानी गर्न सहज हुन्छ।
के साँच्चि नै शुन्य ब्याजदरमा मोबाइल किन्न पाइन्छः
सबै वितरक र वित्तीय सेवा प्रदायकले शुन्य ब्याजदरमा मोबाइल फोन किस्ताबन्दी सुविधामा उपलब्ध गराई रहेको दाबि गरेपनि, कम्तीमा १० प्रतिशतका दरले ब्याज रकम असुलेका हुन्छन्। मोबाइल वापत ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकममा पहिले नै १ वर्षसम्मको ब्याजवापत रकम समावेश गरिएको हुन्छ। तपाईले किस्ताबन्दीको साटो नगदै भुक्तानी गरेर मोबाइल पसलेसँग छुट मूल्यमा खरिद गर्न सक्नुहुन्छ,तर किस्तामा खरिद गर्दा तपाईले एक रूपैयाँ पनि छुट पाउनुहुन्न। यही छुट नदिइने रकम नै किस्ताबन्दी वापतको ब्याज रकम हो।

















