काठमाडौैं । उच्च अदालत पाटनको आदेशपछि विशाल बजार कम्पनीले आफ्नो ३४ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गरी साधारणसभा स्थगित गरिएको जानकारी गराएको हो। कम्पनीले आज फागुन २८ गते साधारणसभा डाकेको थियो।
विशाल बजार कम्पनीको साधारणसभा गर्ने कार्यविरुद्ध कम्पनी शेयरधनी सुनिलकुमार शाक्यले उच्च अदालतमा रिट निवेदन दिएका थिए। सोही रिट निवेदनमा सुनुवाइ गर्दै अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको सोमबारको संयुक्त इजलासले विशाल बजार कम्पनीलाई साधारणसभा रोक्न अन्तरिम आदेश दिएको थियो।
शेयरधनी शाक्यले कम्पनीको साधारणसभा गर्ने निर्णय र प्रकाशित सूचना शेयरधनीको हितविपरीत नभएकोले सो कार्य यथास्थितिमा राखी अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए।
अदालतले पनि साधारणसभा शेयरधनीको हितविपरीत हुने देखिएकोले तत्काल सो कार्य कार्यान्वयन नगर्न कम्पनीलाई अन्तरिम आदेश दिएको छ। रिट निवेदकको मागदाबी कम्पनी ऐन २०६३ को दफा १३९ (४) समेतको अनुकूल नै भएकोले निवेदनको अन्तिम किनारा नलागेसम्म साधारण नगर्न अन्तरिम आदेश दिँदै अदालतले १५ दिनभित्र विशाल बजार कम्पनीलाई लिखित जबाफ पेस गर्नसमेत आदेश दिएको छ।

















