काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट अनलाइन प्रणालीमार्फत अभिकर्ता इजाजतपत्र नवीकरण गराएका पहिलो खेपका अभिकर्ताको तीनवर्षे इजाजत अवधि सकिन लागेको छ।
आउँदो मंसिर १८ गतेदेखि तीनवर्षे अवधि पूरा हुने शृंखला सुरु हुने भएको हो। प्राधिकरणले तीनवर्षे अवधि तोकेर २०७९ मंसिर १९ गतेदेखि अभिकर्ता इजाजतपत्र नवीकरण गर्ने वा नयाँ इजाजतपत्र जारी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। त्यसअघि प्राधिकरणले पुनः नविकरण गर्न सकिने गरी एकवर्षे अवधिका लागि मान्य हुने नयाँ इजाजतपत्र जारी गर्दै आएको थियो।
प्राधिकरणले २०७८ साल चैत ८ गतेदेखि आर्थिक वर्ष २०७८।७९ का लागि अभिकर्ता इजाजतपत्र नवीकरण सेवा अनलाइन माध्यमबाट सुरु गरेको थियो। २०७९ कात्तिक २१ गतेभन्दा पहिले जारी गरिएका बीमा अभिकर्ता र सर्वेक्षकको इजाजतपत्र ३१ असार २०८० सम्ममा नवीकरण गराएकाहरुको हकमा तीन वर्षका लागि नवीकरण गरेको थियो। नवीकरण गर्न छुटाएकाहरुको इजाजतपत्र स्वतः रद्द भएको थियो।
सुरुमा परीक्षणका क्रममा गरिएको नवीकरण सेवा सफल भएपछि प्राधिकरणले पछि सबै खाले इजाजतपत्र जारी गर्ने र नवीकरण गर्ने कामका लागि २०७९ मंसिर १९ गतेदेखि अनलाइन प्रणाली अनिवार्य गर्यो। २०७८ कात्तिक २२ गतेपछि जारी गरिएका सबै इजाजतपत्रको बहाल अवधि तीन वर्ष कायम गरिएको छ।
बीमा ऐन २०७९ को दफा ९१ उपदफा ३ मा बीमा मध्यस्थकर्ता (अभिकर्ता, सर्भेयरसमेत) तथा अन्य बीमा सेवा प्रदायकको इजाजतपत्रको अवधि तीन वर्षको हुने व्यवस्था छ। यो अवधि पूरा हुनुअगावै आवश्यक कागज प्रमाण पेस गरेर अभिकर्ताले इजाजतपत्र नवीकरण गराउनुपर्छ।
बीमा नियमावली, २०८१ को दफा ४३ मा अभिकर्ता भई कार्य गरेको प्रमाण ‘प्राधिकरणले तोकेको प्रतिशतमा बीमालेख नवीकरण’ भएको प्रमाण इजाजतपत्र नवीकरणसम्बन्धी व्यवस्था छ।
छैन निर्देशिकाः
नियमावलीमा प्राधिकरणले तोकेको प्रतिशत भन्ने व्यवस्था गरिएको छ। समय घर्किन लागि सक्दा समेत प्राधिकरणले प्रतिशत तोक्न सकेको छैन। इजाजतपत्र नवीकरणका लागि अभिकर्ताले पुराना बीमालेखमध्ये कति प्रतिशत बीमालेख नवीकरण भएको हुनुपर्ने ? एकल बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखमात्र बिक्री गरेर अभिकर्ता पेसा गरिरहेका अभिकर्ता भए उनीहरुको हकमा बीमालेख नवीकरणसम्बन्धी व्यवस्था के हुने ? यी विषय अनुत्तरित छन्।
पेसागत बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारीले अभिकर्ताको इजाजतपत्र नवीकरणमा केही जटिलता रहेको बताए। उनका अनुसार, पहिलो वर्षका लागि पुराना बीमालेख नवीकरण सम्बन्धित प्रावधान लागू नगर्ने, दोस्रो वर्ष सक्रिय बीमालेख १ प्रतिशत हुनुपर्ने र तेस्रो वर्ष बजारको अवस्थामा आधारित भएर बीमालेख नवीकरणसम्बन्धी मापदण्ड तय गर्ने भन्ने विषयमा छलफल भएको थियो। ‘छलफलमा म सहभागी त थिइनँ, तर साथीहरुले यी विषयमा कुरा भएको बताएका छन्’, उनले भने। समय धेरै बाँकी नरहेकाले अब बीमा प्राधिकरणले यस विषयमा छिटो टुंगो लगाउनुपर्ने अभिकर्ता संघको माग छ।
बीमा ऐन, २०७९ मा इजाजतपत्र नवीकरणसम्बन्धी व्यवस्था
दफा ९४ उपदफा (१) इजाजतपत्र नवीकरणसम्बन्धी व्यवस्थाः बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले इजाजतपत्र नवीकरण गराउन चाहेमा इजाजतपत्रको अवधि समाप्त हुनु अगावै तोकिएको दस्तुर तथा अन्य विवरण संलग्न गरी प्राधिकरण समक्ष निवेदन दिनुपर्नेछ।
दफा ९४ उपदफा (२) कुनै बीमा मध्यस्थकर्ताले उपदफा (१) बमोजिमको म्यादभित्र इजाजतपत्र नवीकरणका लागि निवेदन दिन नसकेको कारण खुलाई म्याद थपका लागि निवेदन दिएमा प्राधिकरणले आवश्यक जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा बढीमा तीन महिनाका लागि म्याद थप गरिदिन सक्नेछ।
दफा ९५ को उपदफा (१) इजाजतपत्र खारेजी सम्बन्धित व्यवस्थाः कुनै बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले इजाजतपत्र नवीकरणका लागि दफा ९४ बमोजिमको अवधिभित्र निवेदन दिएमा इजाजतपत्रको अवधि समाप्त मितिदेखि निजको इजाजतपत्र स्वतः खारेज हुनेछ ।
दफा ९४ को उपदफा २ मा इजाजतपत्रको म्याद थपका लागि कति अवधिभित्र निवेदन दिनुपर्ने भन्ने प्रष्ट व्यवस्था गरेको पाइँदैन । तर, बढीमा ३ महिनाका लागि म्याद थप गरिदिन सक्नेछ भन्ने व्यवस्थाले इजाजतपत्रको अवधि पूरा भएको ३ महिनाभित्र म्याद थपको निवेदन दिइसक्नुपर्ने आशय बुझिन्छ।
बीमा नियमावली, २०८१ मा इजाजतपत्र नवीकरणसम्बन्धी व्यवस्था
नियम ४३ को उपनियम (१): इजाजतपत्रको अवधि समाप्त हुनुअगावै बीमा अभिकर्ताले सम्बन्धित बीमकको सिफारिससहित बीमा प्राधिकरणमा इजाजतपत्र नवीकरणका लागि निवेदन दिनुपर्ने।
नियम ४३ को उपनियम(३): अनुसूची ७ बमोजिमको नवीकरण शुल्क बुझाएको निस्सा पेस गर्नुपर्ने।
नियम ४३ को उपनियम(४): म्याद थपका लागि निवेदन दिएमा निवेदन दिन म्याद समाप्त भएको मितिले अनुसूची ७ बमोजिमको विलम्ब शुल्क तिरी नवीकरण गर्न सकिनेछ।
अनुसूची ७ः इजाजतपत्र नवीकरणका लागि नवीकरण शुल्कवापत रु. १ हजारसहित भुक्तानी गर्नुपर्ने।
के गर्दैछ प्राधिकरणः
बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीले अभिकर्ताको इजाजतपत्र नवीकरणका विषयमा अप्ठेरो नहुने गरी अगाडि बढ्ने बताए। ‘ऐन–नियममा भएका मापदण्ड त मान्नैपर्छ’, उनले भने, ‘तर, यस विषयमा सहजता कायम गर्न १–२ दिनमै परिपत्र जारी गर्दैछाैं।’

















