काठमाडौं । गत भदौको तेस्रो साता काठमाडौंसहित देशका विभिन्न सहरमा भाटभटेनी सुपरमार्केट र अन्य व्यावसायिक भवनमा आगलागी हुँदा प्रदर्शनकारीसहित २० जनाको आगोमै डढेर ज्यान गयो। रमिता हेर्न भवनमाथि उक्लिएका, उम्किने भाग्ने बाटो नदेखेका, चोरी, लुटपाटका लागि भवनको माथिल्लो तल्लामा रहेकाहरु धुँवाको मुस्लो र आगोको रापले नै डल्लो परे र डढे।
हुलदंगामा विध्वंशकारीले लगाएको आगोबाट ज्याउन जोगाउन उनीहरुले कुनै बाटो पाएनन्। भित्रै थुनिए, निस्सासिए अनि डढेर चिच्याउँदै ज्यान गुमाउन बाध्य भए। भाटभटेनीका प्रायः भवनहरुभित्र प्रवेश गरिसकेपछि बाहिरी संसारमा के हुँदैछ भन्ने केही थाहा नहुने गरी बनाइएका छन् । प्रायः यस्ता व्यवसायीक भवनहरू ग्राहकलाइ किनमेलको माहोलमा भुलाउनका लागि भवनको मुख्य संरचनाभित्रै भर्याङ, लिफ्ट र एलिभेटरहरु(स्वचालित भर्याङ) जडान गरेर बनाइएका हुन्छन्। तर सँगै अापतकालीन अवस्थामा उम्कन पर्याप्त खुल्ला ठाउँ र बाहिरी भर्याङ पनि जडान गरिएका हुन्छन् । यसबाहेक भुइँमा सुरक्षा संकेत र अध्यारोमा समेत टल्किने गरी बाटो देखाउने धर्को तानिएको हुन्छ।
भाटभटेनीमा नियतवश गरिएको आगजनी भएकाले मृतक प्रतिको संवेदनशीलताको पछि चासो राख्ने धेरै भएनन् । तर, दुर्घटनावश भाटभटेनीको भवनको कुनै तल्लामा आगो लागिहाल्यो भने भवनभित्र अघिल्तिर रहेको भर्याङबाहेक त्यहाँबाट उम्किने भाग्ने कुनै बाटो छैन। भाटभटेनीको अधिकांश भवनमा प्रत्येक तल्लामा प्रवेश गर्ने र बाहिर निस्किने भर्याङ एकैतर्फ अर्थात भवनको अघिल्तिर नै राखिएका छन् । भवनको भुइँमा अँध्यारोमा समेत टल्किने गरी कुनै सुरक्षा संकेत चिह्न राखिएका छैनन्। प्रत्येक तल्लाको मुख्य द्वार आगलागी वा अन्य कुनै कारणले थुनियो भने कुन बाटोबाट कसरी उम्किने भन्ने कुनै पनि सुरक्षा संकेत वा भाटभटेनीमा किनमेल गर्न आउनेलाई जानकारी गराउने कुनै अभ्यास देखिँदैन।
भाटभटेनीमा आगोमा डढेर ज्यान गुमाएकाहरुको अझैसम्म पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ।
असुरक्षित छन् व्यवसायीक भवनः
बहुतल्ले भवन र सर्वसाधारणको नियमित आवागमन हुने बहुतल्ले भवन चारैतर्फबाट ढाकेर राख्दा आगोले भन्दा पनि धुँवा बाहिरिन नपाउँदा निस्सासिएरै पनि ज्यान जाने जोखिम बढाउँछ।
नियमितजसो सर्वसाधारणको ठूलो चहलपहल र भीडभाड रहने भाटभटेनी सुपरस्टोर जस्ता ठूला व्यवसायीक प्रतिष्ठानको सार्वजनिक प्रयोजनका भवन संरचनाहरु सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै बनाइएको देखिएको छ। भाटभटेनी सुपरस्टोर उक्लिने र झर्ने भर्याङ भवनको एकैतर्फ छ। आगलागीको समयमा झनै जोखिम बढ्ने भएकाले एलिभेटर लिफ्ट बन्द गरिएको हुन्छ वा स्वतः बन्द भइदिन्छ।
भाटभटेनी सुपरमार्केटको बहुतल्ले भवनमा भवनहरुमा मुख्य संरचनासँग टाँसिएको तर बाहिरै जडान गरिएको खुला भर्याङको व्यवस्था गरिएको छैन। अहिले प्रदर्शनकारीले आगजनी गरिएका कारण आगजनीमा परेर ज्यान गुमाएकाप्रति भाटभटेनी सुपरमार्केटको व्यवस्थापन प्रत्यक्ष रुपमा जिम्मेवार ठहर्याइएको छैन। तर, सामान्य अवस्थामा कुनै कारणले सर्ट सर्किट भएर वा अप्रत्याशित रुपमा पुरै भवनमा आगो सल्किने हो भने त्यहाँ किनमेल गर्न गएका, सिनेमा हेर्न गएका, खानपिउन गएका ग्राहक र भाटभटेनका कर्मचारीहरू कसरी सुरक्षित रुपमा बाहिरिनेछन् ?
यस्तो छ राष्ट्रिय भवन संहितामा बहुतल्ले व्यावसायिक भवन सम्बन्धित प्रावधान
नेपालमा बहुतले व्यावसायिक भवनमा बाह्य रुपमा जोडिएको भर्याङ (प्रायः फायर इस्केप वा बाह्य भर्याङ भनेर चिनिन्छ)को आवश्यकता सामान्यतया मध्यम उचाइँ र अग्लो भवनहरुका लागि अनिवार्य गरिएको छ। भवनमा ठूलो भुइँ क्षेत्रफल र मान्छेको आवतजावत उच्च हुन्छ, नेपाल राष्ट्रिय भवन संहिता अनुसार, विशेषगरी एनबीसी २०६ मा भवन संरचना मापदण्ड अन्तर्गत आगलागी सुरक्षा सम्बन्धमा प्रावधान छ।
संहिताले आगो वा भूकम्पजस्ता आपतकालीन अवस्थाहरुमा सुरक्षाका लागि बाह्य निकाससम्बन्धी प्रावधानहरु तोकेको छ। सुरक्षित निकासका लागि बहुतल्ले भवनहरुमा पर्याप्त निकास (ढोका,बार्दली, सिँढी,र्याम्पहरू) को व्यवस्था गर्नुपर्छ।
संहिताले प्रायः आपतकालीन अवस्थामा उम्किनका लागि भर्याङहरुको कम्तीमा एउटा भाग बाहिरी भागतिर फर्केको हुनुपर्ने व्यवस्था गरेको छ। यो भेन्टिलेसन र उद्धार टोलीको पहुँचको लागि एक महत्वपूर्ण प्रावधान हो ।
आगोलागीका बेला उद्धार गर्न बाहिरी भर्याङहरु सिधै भुइँ तल्लासम्मै जोडिएको हुनुपर्छ । भर्याङको प्रवेशद्वार मुख्य भित्रि भर्याङभन्दा बेग्लै र टाढा हुनुपर्छ।
काठमाडौं महानगरपालिकाको सहरी व्यवस्थापन विभागका स्ट्रक्चरल इन्जिनियर सन्तोष पाण्डेयले अग्नि सुरक्षाको मापदण्ड पूरा नगरेका अझै पनि २० प्रतिशत बहुतले भवन नक्सा पास नभएको बताए। उनले भने, ‘अझै पनि ९० प्रतिशत त्यस्ता भवनहरु अग्नि सुरक्षाको हिसाबले बनिरहेका छैनन्, यो यथार्त हो ।’
काठमाडौंमा निर्णमा हुने बहुतल्ले व्यावसायीक भवन र ५ तल्लाभन्दा माथिका आवासीय भवनहरुमा अब अग्नी सुरक्षाको मापदण्ड अनिवार्य रुपमा लागू हुने पाण्डेयले जानकारी दिए।
‘पहिलेका भवनहरुमा अग्नि सुरक्षाको मापदण्ड पालना नभएको देखिन्छ। अझै मुख्य सहरी क्षेत्रभित्र निक्कै समस्या छ’, उनले भने, ‘त्यसैले अग्नि सुरक्षाको मापदण्ड अनिवार्य कार्यान्वयन गर्न हामी छलफल गरिरहेका छौँ।’

















