काठमाडौं । हाल दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। एउटा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र अर्को निजी क्षेत्रबाट प्रवर्द्धित हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि) रहेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको तथ्यांकअनुसार यी दुवै पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा ३७ अर्ब ७ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन्। जसअनुसार हिमालयन रिको १८ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ र नेपाल रिको १८ अर्ब २८ करोड २३ लाख रुपैयाँ लगानी रहेको छ।
यी दुवै पुनर्बीमा कम्पनीको लगानीको ठूलो हिस्सा बैंकहरुको मुद्दति निक्षेपमा देखिएको छ। बैंकहरुको मुद्दति निक्षेपमा नेपाल रिको कुल १४ अर्ब ३२ करोड २८ लाख रुपैयाँ रहेको छ। जसअनुसार नेपाल रिले क वर्ग बैंकमा १२ अर्ब ८२ करोड २८ लाख रुपैयाँ, पूर्वाधार बैंकमा २६ करोड रुपैयाँ, ख वर्गका बैंक तथा वित्तीय संस्थामा १ अर्ब १४ करोड रुपैयाँ र ग वर्गको वित्तीय संस्थामा १० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी रहेको छ। नेपाल रिको कुल लगानीमा बैंकहरुको मुद्दतिको हिस्सा ७८.३४ प्रतिशत रहेको छ।
नेपाल रिले सूचीकृत पब्लिक कम्पनीको शेयरमा ९ करोड ४७ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५६ करोड ४७ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा ५९ करोड ६५ लाख रुपैयाँ, सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा ५० करोड ७२ लाख रुपैयाँ र अन्य क्षेत्रमा ६५ करोड रुपैयाँ लगानी गरेको छ।
उता हिमालयन रिले क वर्गका बैंकहरुको मुद्दति निक्षेपमा ११ अर्ब ९० करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ। यो कुल लगानीको ६३.३३ प्रतिशत हो।
यसैगरी हिमालयन रिले सूचीकृत पब्लिक कम्पनीको शेयरमा ४ अर्ब ६२ करोड १६ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २० करोड १० लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ७९ करोड रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १ अर्ब ५ करोड रुपैयाँ, अन्य संस्थापक शेयरमा २२ करोड ५० लाख रुपैयाँ र अन्य क्षेत्रमा ४७ लाख ८० हजार रुपैयाँ लगानी गरेको छ।












