काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताको कामकारबाहीका विषयमा निरीक्षण र छानबिन गर्ने भएको छ।
प्राधिकरणले बीमा अभिकर्तासम्बन्धी निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। निर्देशनअनुसार अब प्राधिकरणले बीमा अभिकर्ताको कामकारबाहीको जुनसुकै समयमा निरीक्षण वा छानबिन गर्न सक्नेछ।
प्राधिकरणले निरीक्षण वा छानबिनका लागि माग गरेका कागजपत्र, विवरण तथा तथ्यांक उलब्ध गराउनु अभिकर्ताको कर्तव्य हुनेछ। बीमकले पनि अभिकर्ताका सम्बन्धमा आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिनाभित्र अनलाइन पोर्टलमार्फत प्रतिवेदन पेस गर्नुपर्नेछ।
बीमकले बीमा अभिकर्ताका लागि प्राधिकरणबाट जारी इजाजतपत्र नम्बरलगायतका विवरण खुलाई परिचयपत्र दिनुपर्ने प्रावधान निर्देशनमार्फत गरिएको छ।












