काठमाडौं । त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार सेवा बन्द गर्ने भएको छ।
स्वास्थ्य बीमा बोर्डले उपचार खर्चवापतको ४० करोड रुपैयाँ लामो समयदेखि भुक्तानी नदिएपछि माघ १ गतेदेखि बीमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने घोषणा गरेको हो।
अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, मासिक २ करोड रुपैयाँ घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न असमर्थ छौं।
“मासिक झण्डै ५ करोड हाराहारीको खर्च हुनेमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत गरेर बाँकी अस्वीकृत गरिदै आएको जानकारी गराउँदै हालसम्म अस्पतालको बीमा दाबी रकम झण्डै ४० करोड भुक्तानी बाँकी रहेको व्यहोरा जानकारी गराउँदछौं।”
स्वास्थ्य बीमा बोर्ड र त्रि.वि. शिक्षण अस्पतालबीच सम्झौता बमोजिम २०७७ साल देखि अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गत उपचार कार्यक्रम संचालन हुँदै आएको छ ।
स्वास्थ्य बीमाबाट उपचारमा आउने बिरामी संख्या तथा चाप दिनहुँ वृद्धि हुँदै गएर खर्च समेत बढेपनि पुरै रकम सोधभर्ना नपाएपछि खर्च धान्न नसकिने अवस्थामा पुगेको छ।
अस्पतालमा आउने विरामीहरुको उपचारको क्रममा, बीमा बोर्डको र अस्पतालको सेवा शुल्क फरक भएको र अस्पतालले बारम्बार अस्पतालको रकमलाई अन्तिम रकम मानिदिन २ वर्ष देखि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको अस्पताल प्रशासनको गुनासो छ।












