काठमाडौं । सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका लागि व्यवसायी पक्राउ गर्न थालेपछि हिमालयन लाईफ इन्स्योरेन्सको अध्यक्ष पदबाट सुलभ अग्रवालले राजीनामा दिएको खुलेको छ।
कम्पनी सम्बद्ध श्रोतका अनुसार, अग्रवालले बिहीबारै सञ्चालक राजीनामा दिएका थिए। उनको राजीनामा शुक्रबारको सञ्चालक समिति बैठकले स्वीकृत गरेको जानकारी प्राप्त भएको छ।
बयानका लागि प्रहरीले पक्राउ गर्ने भयले भारत पुगेका उनी आफ्ना पिता शंकरलाल अग्रवालको सुझावपछि नेपाल फर्किएपछि शनिबार बिहान प्रहरीले भैरहवा नाकाबाट पक्राउ गरेको बताइएको छ।
सरकारले हिमालयन रिइन्स्योरेन्सका आधारभूत शेयरधनी व्यवसायी दिपक भट्टले हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्समा व्यक्तिगत नाममा शेयर खरिद गर्न हिमालयन रिइन्स्योरेन्स, हिमालयन लाइफ, क्रेष्ट माइक्रो लाइफलगायतको लगानी रकम दुरूपयोग गरेको विषयमा विभागले अनुसन्धान गरिरहेको छ। विभागको अनुसन्धानमा सघाउनका लागि प्रहरीले शुक्रबार दिउँसो शंकर समूहका अध्यक्ष तथा सुलभका पिता शंकरलाल अग्रवाललाई पनि पक्राउ गरेको थियो ।
शंकर ग्रुपका उपाध्यक्ष सुलभ, यो समूह अन्तर्गतको जगदम्बा होल्डिङ्सका अध्यक्ष समेत हुन् ।












