IME Life New

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै अवसर सिर्जना गरी विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको खाडल पुर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयमा आयोजित संवादमा उनीहरूले यस्तो बताएका हुन् ।

उद्यमी तथा सांसद विदुषी राणाले नेपालबाट विदेशिनु युवाको बाध्यता नभई रोजाइ बन्नुपर्ने बताइन् । नेपालमै उद्योग, सूचना प्रविधि, होटल, अटोमोबाइललगायत क्षेत्रमा पर्याप्त सम्भावना भए पनि नीतिगत जटिलता र अवसरको कमीका कारण युवा विदेशिन बाध्य भएको उनको भनाइ छ । उनले युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्रले मिलेर रोजगारी तथा उद्यमशीलतामैत्री वातावरण बनाउनुपर्ने बताइन् । व्यवसाय सुरु गर्न दर्ता, कर, अनुमति र वित्तीय स्रोतका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै ‘वान विन्डो सिस्टम’ लागू गर्नुपर्ने उनको सुझाव छ ।

Esewa
Crest

नाइमा संस्थापक तथा उद्यमी सौरभ ज्योतीले आगामी ५ देखि १० वर्षमा नेपालको अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताए । त्यसका लागि एसेम्ब्ली उद्योगसँगै पार्टपुर्जा र कम्पोनेन्टको स्थानीय उत्पादन तथा आपूर्ति शृंखला विकास गर्नुपर्ने उनको भनाइ छ ।

उनले शिक्षा क्षेत्र र निजी क्षेत्रबीच ठूलो खाडल रहेको बताउँदै उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रले ठूलो हिस्सा रोजगारी सिर्जना गरिरहेको उल्लेख गर्दै उद्यमी र लगानीप्रतिको विश्वास तथा सुरक्षाको वातावरण बनाउन सके अर्थतन्त्रले गति लिने उनले बताए ।

थापाथली क्याम्पसका एसोसिएट प्रोफेसर लोचन केन्द्र देवकोटाले विश्वविद्यालयबाट अध्ययन पूरा गर्दैमा विद्यार्थीले भोलिपल्टदेखि नै उद्योगमा आवश्यक सबै काम गर्न सक्ने अवस्था नहुने बताए । विश्वविद्यालयले सैद्धान्तिक आधार बलियो बनाउने भएकाले उद्योगमा आवश्यक व्यावहारिक सीपका लागि विश्वविद्यालय, उद्योग र सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

उनले पाठ्यक्रम निर्माणदेखि इन्टर्नसिप, अनुसन्धान, विद्यार्थी परियोजना र रोजगारीसम्मको प्रणालीलाई उद्योगसँग जोड्नुपर्ने बताए । विश्वविद्यालयको अनुसन्धान तथा विद्यार्थी परियोजनामा लगानी बढाउनुपर्ने उनको सुझाव छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्राध्यापक भगवती सेढाईले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण गरेर युवालाई निराश बनाउन नहुने बताइन् । नेपालमै शिक्षा, सीप र रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै उनले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीच सहकार्य आवश्यक रहेको बताइन् ।

उनले उद्योगलाई आवश्यक पर्ने जनशक्तिबारे उद्योगी–व्यवसायीसँग छलफल गरेर पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउँदै अहिले बनेका उद्यमशीलता तथा स्वरोजगारसम्बन्धी नीति व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताइन्। निजी क्षेत्रलाई सीप विकासमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ ।

संवादमा सहभागी चारै जना वक्ताले शिक्षा र रोजगारीबीचको दूरी घटाउन उद्योगसँग प्रत्यक्ष सहकार्य, व्यावहारिक सीप, इन्टर्नसिप तथा अप्रेन्टिससिपलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले नेपालमा अवसर सिर्जना गर्न सके दक्ष युवा विदेशिने क्रम घटाउन सकिने र विदेशिएका युवालाई समेत स्वदेश फर्कने वातावरण बनाउन सकिने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS