काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सद्वारा आयोजना गरिएको चारदिने भव्य प्रविधि महोत्सव ‘टेक एक्सः एलिभेट २०२५’ उत्साहपूर्वक सम्पन्न भएको छ। असार ३२ गतेदेखि साउन ३ गतेसम्म सञ्चालित यो कार्यक्रम प्रविधिमा चासो राख्ने विद्यार्थी, व्यवसायिक प्रतिनिधि, शैक्षिक संस्था, इन्फ्लुएन्सर र लगानीकर्ताहरूको साझा मञ्च बनेको थियो।
करीब १०,००० भन्दा बढी आगन्तुकहरूको उपस्थिति, ५० भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता, ३० भन्दा बढी प्रविधिमैत्री कम्पनीहरूको प्रदर्शनी र १५ भन्दा बढी ख्यातिप्राप्त कन्टेन्ट क्रिएटरहरूसँगको संवादले यस महोत्सवलाई एक अविस्मरणीय प्रविधि उत्सवको रूपमा स्थापित गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरूद्वारा विकास गरिएका २० भन्दा बढी नवीन प्रविधिमूलक प्रोजेक्टहरू प्रदर्शन गरिएका थिए। करुणा (नलेज बेस्ड असिस्टेन्ट फर रोबोटिक युटिलिटी एण्ड नेभिगेसन एक्ट्स), मिरा (मोडर्न एजुकेशनल एण्ड एंगेजमेन्ट रोबोटिक असिस्टेन्ट), स्टडीसेन्स (भर्चुअल रियालिटी इनेब्ल्ड गेमिफाइड कोर्स काउन्सेलर), तोमात्रों (द एआईपावर्ड एग्रोबोट फर प्रिसिजन टोमाटो हार्भेस्टिङ), फिसअवेर, फ्लिप आरएफआईडी, केम्ल्याब भीआर, एभिलट्वीन डिटेक्टर एमएल, सुरक्षित एभी स्ट्रिम जस्ता इनोभेसनहरूले दर्शकहरूको ध्यान तानेको कलेजले जनाएको छ ।
उद्यमशीलता र व्यावसायिक सोचको विकासका लागि आयोजित आन्त्रप्रेनरशिप मास्टरक्लास सत्रमा नारायण कोईराला, डा. मनीष थापा र निरञ्जन खडेलजस्ता स्थापित उद्यमी तथा प्रशिक्षकहरूले अनुभव बाँडेका थिए।
त्यस्तै,भीसी पिचिङ सेसनमा सहभागी २५ भन्दा बढी प्रेरणादायी स्टार्टअप आइडिया मध्य ७ भन्दा बढी लगानीकर्ताहरूले चासो देखाएका थिए । जसले नवप्रवर्तनशील सोचलाई थप ऊर्जा दिएको आयोजकहरूले जनाएका छन्। कलेजले प्रतिभाशाली स्टार्टअपहरूमाझ लगानी प्रवाह सुनिश्चित गर्न १ करोड रुपैयाँ लगानीको घोषणासमेत गरेको छ ।
चार दिनका क्रममा विभिन्न प्रेरक व्यक्तित्वहरूले जीवनदृष्टिकोण, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वबारे संवाद गरे।
दुई दिनसम्म सञ्चालन भएको जब फेयरमा ३० भन्दा बढी कम्पनीहरूको सहभागिता रह्यो, जहाँ सफ्टवारिका कलेजका हालका र पूर्व विद्यार्थीहरूसमेत गरी ५ सयभन्दा बढी सहभागीहरूले प्रत्यक्ष अन्तर्वार्ता, नेटवर्किङ र करियर परामर्शमार्फत भविष्य निर्माणका सम्भावनाहरूको खोजी गरे।
कार्यक्रमको विशेष आकर्षणमध्ये ‘आइरन क्लाश’ रोबोट युद्ध प्रतियोगिता उल्लेखनीय रह्यो, जहाँ २ वर्षदेखि निरन्तर तयारीमा रहेका विद्यार्थी समूहहरूले उच्च प्रविधिको प्रयोगसहित प्रतिस्पर्धा गरे। प्रतियोगिताका विजेताहरूलाई रु ३ लाख बराबरको पुरस्कार प्रदान गरिएको थियो, जसले प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाएको थियो ।
कार्यक्रमको समापन समारोहमा आयोजक संस्थाले ‘टेक एक्सः एलिभेट २०२५’ लाई केवल प्रविधिको प्रदर्शनी नभई शिक्षा, नवप्रवर्तन र प्रेरणाको समागमको रूपमा व्याख्या गरेको थियो । नेपाली युवाहरूलाई विश्वस्तरीय प्रविधि सीप, सोच र आत्मविश्वास प्रदान गर्दै उनीहरूलाई वैश्विक प्रतिस्पर्धामा सक्षम बनाउने उद्देश्यका साथ सफ्टवारिका कलेजले आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको थियो ।

















