काठमाडौं । चार लघु निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१/ ८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा यस समीक्षा वर्षमा खुद नाफा ११ प्रतिशतले बढेको छ ।
यस समीक्षा वर्षमा कम्पनीहरुले कुल १ करोड २८ लाख ९९ हजार खुद नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीहरुले १ करोड १६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
दुई कम्पनीको नाफा बढ्यो
यस समीक्षा वर्षमा दुई माइक्रो इन्स्योरेन्सको नाफा बढेको छ । यस अवधिमा स्टार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको तुलनामा बढेको छ । यस समीक्षा वर्षमा सबैभन्दा धेरै स्टार माइक्रो इन्स्योरेन्सले नाफा आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ५३ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १९७ प्रतिशतले बढेको हो ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले समीक्षा वर्षमा १२ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७९ प्रतिशतले बढेको हो ।
दुईको नाफा घट्यो
यस समीक्षा वर्षमा दुई माइक्रो इन्स्योरेन्सको नाफा घटेको छ । यस समीक्षा वर्षमा ट्रष्ट माइक्रो इन्स्योरेन्सले ४६ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २४ प्रतिशतले घटेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सले यस समीक्षा वर्षमा १६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४३ प्रतिशतले घटेको हो ।
खुद बीमाशुल्क
यता, खुद बीमाशुल्कको आधारमा हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको व्यापार ६८५ प्रतिशतले बढी हो । सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सले खुद बीमाशुल्क संकलन गरेको छ । यस समीक्षा वर्षमा कम्पनीले ७ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ३१० प्रतिशतले बढी हो ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले यस समीक्षा वर्षमा ५ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १०९८ प्रतिशतले बढी हो ।
स्टार माइक्रो इनस्योरेन्सले यस समीक्षा वर्षमा कम्पनीले ५ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ९६९ प्रतिशतले बढी हो ।
ट्रष्ट माइक्रो इन्स्योरेन्सले यस समीक्षा वर्षमा कम्पनीले ४ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ३५१९ प्रतिशतले बढी हो ।

















