काठमाडौं । झापा इनर्जीको शेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।
झापा इनर्जीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि शनिबार परेको झापा इनर्जीको शेयर आइतबारबाट कारोबारमा आउने भएको हो।
झापा इनर्जीको कुल ३८ लाख १ हजार ९०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ९ लाख ५० हजार ४७५ कित्ता (२५ प्रतिशत) र संस्थापकको २८ लाख ५१ हजार ४२५ कित्ता (७५ प्रतिशत) रहेको छ।
नेप्सेले झापा इनर्जीलाई ‘झापा’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १००.१२ रुपैयाँदेखि अधिकतममा ३००.३६ रुपैयाँ तोकेको छ। अब आइतबार स्पेसल प्रिसेसनमा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।
झापा इनर्जीले सर्वसाधारणका लागि गत भदौ २० गतेदेखि भदौ ३० गतेसम्म आइपीओ बिक्री खुलेको थियो। यो आइपीओको बाँडफाँट धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा असोज ८ गते गरिएको थियो।

















