काठमाडौं । अन्य क्षेत्रबाट कर्जाको माग सुस्ताउँदा वाणिज्य बैंकहरुले भने शेयर बजारमा कर्जा लगानी बढाएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना साउनसम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले १ खर्ब २० अर्ब ६१ करोड २६ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका छन्। यी बैंकहरुले गत आर्थिक वर्ष २०८१।८२ को साउनसम्म ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ शेयर लोन दिएका थिए। यो हिसाबले समीक्षा अवधिमा बैंकहरुले प्रवाह गरेको शेयर लोन अघिल्लो वर्षको तुलनामा ६८.२३ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म सबैभन्दा धेरै शेयर लोन दिने बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले माछापुच्छ्रे अगाडि रहेको छ। अघिल्लो वर्षको साउनको तुलनामा समीक्षा अवधिमा १८ वटा बैंकबाट गएको शेयर लोन बढेको छ। एनआईसी एसियाले शेयर लोन प्रवाह घटाएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो शीर्षकमा कर्जा प्रवाह गरेको छैन।
चालु आर्थिक वर्षको साउनमा नबिल बैंकले १६ अर्ब ५७ करोड ७० लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको साउनको तुलनामा ५४.६६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष साउनमा बैंकले १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ शेयर लोन दिएको थियो।
दोस्रो धेरै शेयर लोन प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष साउनमा ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ शेयर लोन दिएको बैंकले समीक्षा अवधिसम्म ५८.७७ प्रतिशतले बढाएर १२ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ।
धेरै शेयर लोन दिने कुमारी तेस्रो बैंक हो। यो बैंकले चालु वर्षको साउनसम्म ११ अर्ब २५ करोड ९ लाख रुपैयाँ शेयर लोन दिएको छ। अघिल्लो वर्ष साउनमा बैंकले ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको शेयर लोन ११३.१८ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म सबैभन्दा कम शेयर लोन दिने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ भने एनआईसी एसियाको कर्जा प्रवाह ४०.०१ प्रतिशतले घटेको छ।


















