काठमाडौं । स्वास्थ्य बीमा बोर्ड गत आर्थिक वर्ष २०८२।८३ मा २९ अर्ब ८६ करोड रुपैयाँ बढी भुक्तानी गरेको छ।
बीमा बोर्डले प्रकाशत गरेको प्रतिवेदनअनुसार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका स्वास्थ्य सेवा प्रदायक संस्थालाई गत आर्थिक वर्षमा कुल २९ अर्ब ८६ करोड २७ लाख रुपैयाँ भुक्तनी गरेको छ। कुल भुक्तानीमा सरकारी अस्पतालहरुले १७ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ पाएका छन्।
यसैगरी सामुदायिक अस्पतालहरुलाई १ अर्ब ६८ करोड ३७ लाख रुपैयाँ र निजी अस्पतालहरुलाई ६ अर्ब १३ करोड ५४ लाख रुपैयाँ भुक्तानी दिइएको बीमा बोर्डले जनाएको छ।
गत आर्थिक वर्षमा बोर्डले ४ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ सेवा प्रदायकको पेश्की फर्छ्यौट गरेको छ।
बीमा बोर्डले गत आर्थिक वर्ष कुल ३६ करोड ७५ लाख ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। जसमा अघिल्लो आर्थिक वर्षबाट आएको १ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ छ।
त्यस्तै नेपाल सरकारबाट बीमा योगदानबापत २१ अर्ब १९ करोड ३१ लाख रुपैयाँ बोर्डले प्राप्त गरेको छ। विभिन्न नागरिक औषधि उपचार कार्यक्रमका लागि सरकारबाट बोर्डले ५ अर्ब १९ करोड ९९ लाख रुपैयाँ, छात्रवृत्ति करारबापत २४ लाख ४३ हजार रुपैयाँ, पेश्की जिम्मेवारी आम्दानीबापत ४ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ, बीमा प्रिमियमबापत ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ, बीमा कोष आम्दानीबापत ४१ करोड १६ लाख रुपैयाँ र परीक्षा सञ्चालन तथा अन्य आम्दानी १७ लाख ३ हजार रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षसम्म स्वास्थ्य बीमा कार्यक्रममा १ करोड ७ लाख ६५ हजार ७८६ जना आबद्ध भएका छन्। जुन कुल जनसंख्याको ३६ प्रतिशत हो।
यसैगरी क्रियाशील बीमित संख्या ५६ लाख ८७ हजार ५५२ जना रहेका छन्। यो कुल जनसंंख्याको १९ प्रतिशत हो।
गत आर्थिक वर्षमा ४१ लाख ९३ हजार १४३ जनाले बीमा नवीकरण गरेका छन् भने सेवा उपभोग गर्ने बीमित संख्या ३१ लाख ३५ हजार ८०० रहेको छ।












