काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको तथ्याङक अनुसार विप्रेषण आप्रवाह रु.६८७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो ।
२०८२ कात्तिक महिनामा विप्रेषण आप्रवाह रु. १३३ अर्ब ८२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. ११४ अर्ब ३१ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ७५४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५६९ अर्ब २९ करोड रहेको थियो ।

















