काठमाडौं । नेपाल चिकित्सक संघले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले प्रदान गर्ने उपचार सेवामा कर थप्ने सरकारी प्रस्ताव प्रति आपत्ति जनाएको छ। संघले विज्ञप्ती जारी गर्दै सरकारी प्रस्तावबारे पुनर्विचार गर्न र प्रस्ताव फिर्ता लिन चेतावनी समेत दिएको छ।
शुक्रबार जारी विज्ञप्तीमा २०८३।८४ को बजेट वक्तव्यमार्फत् निजी अस्पतालबाट प्रदान गरिने सेवामा स्वास्थ्य समता शुल्क अन्तर्गत तीन प्रतिशत कर उठाउने प्रस्ताव गरेकोमा संघले आपत्ति जनाएको हो।
उपचार गराउन अस्पताल आएका बिरामीहरूलाई बिरामी भएकोमा समेत कर उठाउनुले बिरामी र बिरामीका आफन्तमाथि थप आर्थिक भार पर्न गई ठूलो अन्याय हुने संघको भनाई छ।
संघका महासचिव डा. सन्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा विगतमा नेपाल चिकित्सक संघको पहलमा यस्तै प्रकृतिको कर फिर्ता गरिएको स्मरण गराउँदै यस वर्ष पुनः त्यही व्यवस्था समावेश गरिनु खेदजनक रहेको उल्लेख गरिएको छ। संघले उक्त निर्णयका कारण बिरामीहरू थप आर्थिक बोझमा पर्ने र स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने भन्दै तत्काल निर्णय खारेज गर्न सरकारसँग माग गरेको छ।












