काठमाडौं । निजी अस्पतालमा आकस्मिकबाहेक अन्य स्वास्थ्य बीमा सेवा स्थगित गरिएको छ।
स्वास्थ्य बीमा बोर्डले मंगलबार (जेठ १२ गते) एक सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो। बोर्डको जेठ ११ गतेको निर्णयअनुसार यही जेठ १६ गतेदेखि लागू हुने गरी निजी अस्पतालमा आकस्मिकबाहेक अन्य स्वास्थ्य बीमा सेवा स्थगित गरिएको सूचनामा उल्लेख छ।
बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई ध्यानमा राखेर यो निर्णय गर्नुपरेको सूचनामा उल्लेख छ। ‘अब अर्को निर्णय नभएसम्म स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिकबाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरु स्थगन गरिएको छ’, सूचनामा भनिएको छ।
बीमा बोर्डको यो निर्णयसँगै अब स्वास्थ्य बीमामा आबद्ध बीमितलाई स्वास्थ्योपचार लिन थप कठिनाइ हुने देखिएको छ। यो निर्णयले सरकारी अस्पतालमा बिरामी चाप बढ्ने सम्भावना रहेको छ।












