काठमाडौं । गत वर्ष भदौ महिनामा भएको आन्दोलन र हिंसात्मक घटनाका क्रममा भएको निजी सम्पत्ति क्षतिको बीमा दाबीमध्ये लगभग २८ प्रतिशतमात्र क्षतिपूर्ति भुक्तानी भएको छ। घटना भएको एक वर्षको अवधि पूरा भइसक्दासमेत सरकारी स्वामित्वको पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले जम्मा २७.९७ प्रतिशत दाबी फर्छ्यौट गरेको हो।
कम्पनीका अनुसार भदौ ३१ गतेसम्ममा ६ अर्ब ५६ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै बीमित सम्पत्तिमा भएको क्षतिसम्बन्धी दाबीहरुको पुनर्बीमा दायित्वअन्तर्गत दाबी भुक्तानी कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाउँदै आएको दाबी गरेको छ।
कम्पनीका अनुसार बीमकहरुबाट प्राप्त कागज प्रमाण र क्षति मूल्यांकनका आधारमा यो रकम भुक्तानी गरिसकिएको हो । दाबी भुक्तानी प्रक्रिया निरन्तर जारी रहेकाले यससम्बन्धी अद्यावधिक विवरण समय–समयमा सार्वजनिक गरिने जनाइएको छ।
गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ८४ अर्ब रुपैयाँबराबरको सम्पत्ति क्षति भएको थियो । तर, क्षति भएका सबै सम्पत्तिको हुलदंगा तथा आतंकवाद बीमा नगरिएकाले बीमाकृत सम्पत्तिका लागि स्वदेशी बीमकले २३ अर्ब ४५ करोड रुपैयाँबराबरको मात्र क्षतिपूर्तिको दाबी गरेका थिए।
नक्सालस्थित हिल्टन होटलको ६ अर्ब रुपैयाँबराबरको नोक्सानी क्षतिपूर्तिसम्बन्धी विवाद अहिले अदालतमा विचाराधीन छ। यही विवादमा नेपाल रिका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा निलम्बित छन्।
नेपालमा हुलदंगा तथा आतंकवाद जोखिमबापतको बीमाको सम्पूर्ण भार नेपाल रिले व्यवस्थापन गर्दै आएको छ। यसका लागि नेपाल रिको व्यवस्थापनमा हुलदंगा तथा आतंकवाद जोखिम पुलसमेत सञ्चालन गरिएको छ। बीमकबाट संकलित बीमाशुल्क यो पुलमा जम्मा गर्ने, नेपाल रिले व्यवस्थापन गर्ने र क्षतिपूर्ति दाबीको समयमा यही पुलको कोषबाट भुक्तानी दिने गरिएको छ।
बीमा प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेल अधिकारीले गत वर्ष भदौको हुलदंगामा भएको क्षतिको बीमा दाबी भुक्तानीका विषयमा नेपाल रिसँगै निर्जीवन र जीवन बीमकहरुबीच लगातार समन्वय भइरहेको प्रतिक्रिया दिएकी छन्। ‘बीमा गरेपछि सबै बीमितले समयमै दाबी भुक्तानी पाउनुपर्छ’, उनले भनिन्, ‘यस विषयमा प्राधिकरणले चासो दिएको छ। उहाँहरु पनि बीमितलाई दाबी भुक्तानी दिन हरसम्भव प्रयास गरिरहनु भएको छ। सायद छिट्टै सबै बीमितले भुक्तानी पाउनु हुन्छ।’












