काठमाडौं । नेपाल बीमा प्राधिकरण ४ वटा लघु बीमकलाई सञ्चालक समिति (बोर्ड) गठन र दैनिक कार्य सञ्चालनको व्यवस्था मिलाउन प्राधिकरणले निर्देशन दिएको छ।
प्राधिकरणले आज प्रोटेक्टिम माइक्रो इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।
ती कम्पनीका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, पदाधिकारीलगायतका कर्मचारीविरुद्ध मुलुकी फैजदारी कार्यविधि संहिता, २०७४ बमोजिम धितोपत्रसम्बन्धी ऐन, २०६३, बीमा ऐन, २०७९ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा विदेशी विनियम नियमित गर्ने ऐन–२०१९ अन्तर्गतका कसुरमा विभिन्न अदालतमा मुद्दा भएसँगै उनीहरु निलम्बनमा परेका छन्। निलम्बनको झन्डै एक महिनासम्म सञ्चालक र निमित्त प्रमुख कार्यकारी अधिकृत नहुँदा ती कम्पनीको दैनिक कार्यसँगै महत्वपूर्ण निर्णयहरु प्रभावित भएका छन्।
यही अवस्थालाई ध्यानमा राखेर प्राधिकरणले ती कम्पनीहरुलाई सञ्चालक समिति गठन गर्न तथा दैनिक कामकारबाही सञ्चालन गर्न प्रचलित कानुनबमोजिम प्रक्रिया अवलम्बन गर्न निर्देशन दिएको हो।












