काठमाडौं । नेपालमा नसर्ने रोगहरूको प्रकोप एउटा मौन महामारीका रूपमा फैलिरहेको छ। मुटु रोग, क्यान्सर, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्याहरूले जनस्वास्थ्यलाई मात्र चुनौती दिइरहेका छैनन्, नेपाली परिवारहरूलाई आर्थिक रूपमा टाट पल्टाउँदै पनि लगेका छन्।
सरकारी तथ्याङ्क २०८१।८२ लाई हेर्ने हो भने, उपचार खर्चकै कारण लाखौँ नेपालीहरू गरिबीको रेखामुनि धकेलिने जोखिममा छन्। स्वास्थ्य विभागद्वारा सार्वजनिक विवरण अनुसार विभिन्न कडा रोगहरूको उपचार खर्च र अवस्था यसप्रकार देखिएको छ।
| रोगको प्रकार | बिरामी संख्या | मृत्युको हिस्सा | औसत उपचार खर्च (रू) | बीमाको सान्दर्भिकता |
| मुटु रोग | ४२,८२५ | करिब ३३% | ३ देखि ७ लाख (शल्यक्रिया) | घातक रोग बीमा अत्यावश्यक |
| क्यान्सर | ९८,०८० | करिब २०% | ५ देखि १० लाख+ | घातक रोग बीमा जीवनरक्षक |
| मधुमेह | ८,००,७२६ | बढ्दो क्रममा | मासिक ५ देखि १५ हजार | दीर्घकालीन उपचारका लागि स्वास्थ्य बीमा |
| दम/श्वासप्रश्वास (COPD) | ३,२५,१३५ | करिब १०% | मासिक १० देखि २० हजार | स्वास्थ्य बीमा अनिवार्य |
| आगोले पोलेको/चोटपटक | ७९,६३० | तुलनात्मक कम | ५० हजार देखि २ लाख | स्वास्थ्य बीमा सहयोगी |
उपचार कि जायजेथाः
नेपालमा स्वास्थ्योपचारमा आफ्नै खल्तीबाट गर्नुपर्ने खर्च निकै उच्च छ। तथ्याङ्क अनुसार, सन् २०१५।१६ मै स्वास्थ्य खर्चकै कारण १.७५ घरधुरी गरिब बनेका थिए। सरकारले सन् २०३० सम्ममा स्वास्थ्य खर्चका कारण कोही पनि गरिब बन्नु नपरोस् भन्ने लक्ष्य राखेको भए पनि, बीमाको पहुँच बिना यो असम्भव देखिन्छ।
आधारभूत व्यवस्थापन (औषधि, परिक्षण, जाँच) प्रति महिना ५ हजारदेखि १५ हजार रुपैयाँ खर्च लाग्न सक्छ। अस्पतालको सुविधा अनुसार उन्नत हस्तक्षेपहरू (एन्जियोप्लास्टी, बाइपास सर्जरी) ३ लाखदेखि ७ लाख रुपैयाँसम्म पर्छ।
क्यान्सर रोगका बिरामीका लागि अनिवार्य हुने केमोथेरापीका लागि प्रत्येक पटकको लागत २० हजार देखि ५० हजार रुपैयाँ हुन्छ। जसमा धेरै चक्रहरू आवश्यक पर्दछ। रेडियोथेरापी र शल्यक्रियाले कुल उपचार लागत ५ लाखदेखि १० लाख रूपैयाँ सम्म पुर्याउन सक्छ।
अहिले पनि धेरै परिवारहरूले क्यान्सर, मृगाैला वा मुटुको शल्यक्रिया गर्नुपर्दा जग्गाजमिन बेच्ने, पशुचौपाया रित्याउने वा चर्को ब्याजमा ऋण लिनुपर्ने बाध्यता छ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार अब स्वास्थ्य बीमालाई स्वेच्छिक विषय मात्र बनाउनु हुँदैन। किनकी बीमाले बीमितलाई दुई प्रकारले सुरक्षा दिन्छः
१.स्वास्थ्य बीमा जसले मधुमेह र दम जस्ता दीर्घकालीन रोगका लागि नियमित जाँच र औषधिको खर्च व्यहोर्छ।
२.कडा रोग बीमाः जसले क्यान्सर वा मुटुको शल्यक्रिया जस्ता ठुलो खर्च लाग्ने अवस्थामा एकमुष्ठ रकम प्रदान गरी परिवारलाई आर्थिक संकटबाट जोगाउँछ।
नेपालमा हुने कुल मृत्युको दुई तिहाइ हिस्सा नसर्ने रोगले ओगटेको छ। यस्तोमा बीमा गर्नु भनेको पैसा खर्च गर्नु होइन, बरु भविष्यको अनिश्चितता विरुद्धको बलियो सुरक्षा कवच हो, विज्ञहरू भन्छन्।
नेपालमा नसर्ने रोग विरुद्धको लडाइँ केवल अस्पताल र औषधिमा मात्र सीमित छैन, यो आर्थिक व्यवस्थापनको लडाइँ पनि हो। तथ्याङ्कले स्पष्ट भन्छ, उपचार महँगो छ, तर बीमा सुलभ छ। ज्यान बचाउन आफ्नो जीवनभरको कमाइ र पुर्ख्यौली सम्पत्ति गुमाउनु नपरोस् भन्नका लागि आजै स्वास्थ्य बीमा र कडा रोग विरुद्धको बीमामा जोडिनु अपरिहार्य भइसकेको छ।












