काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा नियुक्त भएका हेमन्त बस्यालले आफ्नो मुख्य योजना नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको बजार सञ्चालक बनाउने बताएका छन्।
इन्स्योरेन्स खबरसँगको कुराकानीमा नवनियुक्त अध्यक्ष बस्यालले नेप्सेलाई व्यावसायिक र प्रतिस्पर्धी बजार सञ्चालक बनाउने बताए। ‘मेरो प्रयास भनेकै नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको निकाय बनाउने हो’, उनले भने।
नेप्सेलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउँदा लगानीकर्ताको हितसँगै लगानी सुरक्षा हुने अध्यक्ष बस्यालको भनाइ छ। सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी गरिरहेको छ नि भन्ने जिज्ञासामा बस्यालले भने, ‘नेप्सेलाई प्रतिस्पर्धी बनाएपछि अर्को स्टक एक्सचेन्ज आउँदा पनि कुनै फरक पर्दैन।’
नेप्सेमा पदबहाली भएपछि गर्न बाँकी र गर्नै पर्ने नीतिगत विषयहरु प्राथमिकताका आधारमा अध्ययन गरेर अगाडि बढाउने बस्यालले बताए। ‘नेप्सेका साथीहरुबाट भरपुर सहकार्य र साथ पाउँछु भन्ने आशा छ’, उनले भने।
बस्याललाई गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो। करिब ४ महिनादेखि नेप्से अध्यक्षविहीन थियो।
बस्यालले अर्थ मन्त्रालयबाट नियुक्तिपत्र बुझिसकेका छन्। बस्यालले सोमबारबाट नेप्सेमा अध्यक्षको कार्यभार सम्हाल्नेछन्। बस्याल एनआएरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका पूर्वकार्यकारी अधिकृत हुन्।

















