काठमाडौं । दोस्रो बजारमा भोलि बिहीबार एकैपटक दुई कम्पनीको शेयर कारोबारमा आउने भएको छ। कालंगा हाइड्रो र सानिगाड हाइड्रोको शेयर कारोबारमा आउने भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज कालंगा हाइड्रो र सानिगाड हाइड्रोकको आइपीओ सूचीकृत भएको छ। कुनै पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीबमोजिम यी दुवै कम्पनीको शेयर कारोबारमा आउने भएको हो।
नेप्सेमा कालंगा हाइड्रोको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४० लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ४९ लाख कित्ता (३५ प्रतिशत) र संस्थापकको ९१ लाख कित्ता (६५ प्रतिशत) रहेको छ।
पहिलो कारोबारका लागि नेप्सेले कालंगा हाइड्रोलाई प्रतिकित्ता न्यूनतम ९८.५६ रुपैयाँदेखि अधिकतममा २९५.६८ रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘केएएचएल’ पाएको छ।
यसैगरी नेप्सेमा सानिगाड हाइड्रोको १०० रुपैयाँ अंकित दरका कुल २ करोड ८५ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ८५ लाख ५० हजार कित्ता (३० प्रतिशत) र संस्थापकको १ करोड ९९ लाख ५० हजार कित्ता (७० प्रतिशत) रहेको छ।
पहिलो कारोबारका लागि नेप्सेले सानिगाड हाइड्रोलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘एसजीएचएल’ पाएको छ।
भोलि स्पेसल प्रिसेसनमा यीे दुवै कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।












