काठमाडौं। नेको इन्स्योरेन्सले ब्रोड पिक हिमपहिरोमा परी मृत्यु भएका नेपाली आरोहीका परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ।
पाकिस्तानको काराकोरम पर्वत शृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको हिमपहिरोमा परी विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा मृत्यु हुनेमध्ये ५ जना नेपाली नागरिक रहेका थिए।
सोही दुर्घटनामा परी मृत्यु भएका नेपाली नागरिक ग्यालु शेर्पा र ङाङ ठिन्डु शेर्पाका परिवारका सदस्यलाई ट्रेकिङ तथा एक्सपेडिसन बीमाअन्तर्गतको बीमा दाबी रकम नेको इन्स्योरेले भुक्तानी गरेको हो। उक्त ट्रेकिङ तथा एक्सपेडिसन बीमा सेभेन समिट ट्रेक्स प्रालिमार्फत गरिएको थियो।
नेको इन्स्योरेन्सले आवश्यक प्रक्रिया पूरा गरी दाबीको शीघ्र छानबिन तथा मूल्यांकनपश्चात बीमा दाबी भुक्तानी गरेको हो। विपद्को कठिन समयमा बीमितका परिवारलाई आर्थिक राहात तथा सहयोग प्रदान गर्नु बीमाको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ।
सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले नेको इन्स्योरेन्सले गरेको शीघ्र दाबी भुक्तानीप्रति खुसी व्यक्त गरे। उनले भने, ‘ट्रेकिङ तथा एक्सपेडिसन व्यवसायमा शेर्पाहरु मेरुदण्डका रुपमा रहेका छन्। यस्तो कठिन परिस्थितिमा नेको इन्स्योरेन्सले गरेको शीघ्र तथा सहज दाबी भुक्तानीले पीडित परिवारलाई ठूलो राहात पुगेको छ। यसका लागि हामी नेको इन्स्योरेन्सप्रति आभारी छौँ।’
नेको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत पवन थापाले बीमा केवल जोखिम हस्तान्तरणको माध्यम मात्र नभई दुर्घटना तथा विपद्को समयमा बीमित तथा तिनका परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले भने, ‘विशेषगरी ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा कार्यरत जनशक्तिका लागि उपयुक्त बीमा सुरक्षाको महत्वमा छ।’
नेको इन्स्योरेन्सले आगामी दिनमा पनि बीमित तथा सेवाग्राहीलाई छिटो, सरल र प्रभावकारी दाबी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।












