काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकहरुले बीमांकको कम्तीमा २० प्रतिशत पुनर्बीमा नेपाल रिइन्स्योरेन्स कम्पनी (नेपाल रि)बाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
गत जेठ १५ गते ल्याइएको चालु आर्थिक वर्ष २०८३।८४ को बजेटमा नेपालका बीमा कम्पनीहरुले बीमांकको कम्तीमा २० प्रतिशत पुनर्बीमा नेपाल रिबाट गर्नुपर्ने व्यवस्था गरिएको थियो। प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा पाँचौँ संशोधन गर्दै उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो।
संशोधित निर्देशिकामा भनिएको छ, ‘नेपालमा कार्यरत बीमकले जारी गर्ने बीमांकको कम्तीमा २० प्रतिशत प्रत्यक्ष हिस्सा नेपाल पुनर्बीमा कम्पनीबाट पुनर्बीमा गराउनुपर्नेछ।’ योसँगै सरकारी स्वामित्वको पुनर्बीमा कम्पनीले बीमकहरुबाट कम्तीमा २० प्रतिशत व्यवसाय पाउने सुनिश्चित भएको छ।
प्रत्यक्ष हिस्साअन्तर्गत हवाई बीमा, हुलदंगा तथा आतंकवाद र विविध बीमाअन्तर्गत पर्ने स्वास्थ्य यात्रा र ट्रेकिङ बीमा भने समावेश नहुने व्यवस्था पनि प्राधिकरणले निर्देशिकामा संशोधन गरी कायम गरिदिएको छ।
यसअघि निर्देशिकामा बीमकले स्वदेशी पुनर्बीमकलाई ट्रिटी पुनर्बीमाअन्तर्गत पुनर्बीमा गर्दा प्रत्यक्ष हिस्सा बाँडफाँटसम्बन्धी दर निर्धारण गरिएको थियो। प्रत्यक्ष हिस्सा बाँडफाँट आर्थिक वर्ष २०८३।८४ सम्म बाँडफाँट गर्नुपर्ने व्यवस्था थियो। आर्थिक वर्ष २०८४।८५ मा भने यसलाई शून्यमा झारिने भनिएको थियो।












