काठमाडौं । काठमाडौंमा गत चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनका क्रममा भएको हुलदंगाका कारण भएको क्षतिमा हालसम्म निर्जीवन बीमा कम्पनीहरुले ५ करोड रुपैयाँ बढीको दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणले बीमकहरुबाट प्राप्त चैत २५ गतेसम्म तथ्यांक सार्वजनिक गर्दै हुलदंगाका कारण भएको क्षतिमा १२ वटा बीमा कम्पनीमा ५० वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले ५ करोड ४९ हजार ४२१ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो।
थ्यांकअनुसार शिखर इन्स्योरेन्सले हुलदंगाबाट क्षतिमा परेको सम्पूर्ण दाबीको भुक्तानी गरेको छ। यो कम्पनीले ५ वटा दाबी ४ लाख ९८ हजार २१३ रुपैयाँ भुक्तानी गरेको छ।
हुलदंगाबाट भएको क्षतिमा सबैभन्दा धेरै रकमको दाबी राष्ट्रिय बीमा कम्पनीमा परेको छ। यो कम्पनीले २ वटा दाबीको १ करोड २७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
दोस्रो धेरै रकमको दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स परेको छ। कम्पनीले ९ वटा दाबीबापत १ करोड १७ लाख ९५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७ वटा दाबीको ७५ लाख ४९ हजार ४१३ रुपैयाँ, नेको इन्स्योरेन्सले ४ वटा दाबीको ५२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले एउटा दाबीको ४७ लाख ५० हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ वटा दाबीको २२ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ११ वटा दाबीको २० लाख ७५ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ६ वटा दाबीको १७ लाख ६० हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले एउटा दाबीको ८ लाख ७१ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले एउटा दाबीको ६ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले एउटा दाबीको ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
शिखरबाहेक अन्य ११ वटा कम्पनीले एउटा पनि दाबीको रकम भुक्तानी गरेका छैनन्। प्राधिकरणले गत चैत १७ गते हुलदंगाको बीमा दाबी भुक्तानी यथाशक्य छिटो फर्छ्यौट गर्न निर्देशन दिएको थियो।