काठमाडौं । देशका विभिन्न स्थानमा गत असोज १८ गतेयताको अविरल बर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरुमा परेका ७४४ वटा प्रारम्भिक बीमा दाबीको कुल करिब ३ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। त्यसमध्ये कम्पनीहरुले हालसम्मा करिब १ करोड १४ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरिसकेका छन्।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ ४०५ वटा दाबीको दाबी रकम करिब ३ अर्ब २१ करोड ५० लाख रुपैयाँमध्ये ६४ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिब ४७ करोड ६६ लाख रुपैयाँमध्ये करिब १ लाख ५४ हजार रुपैयाँ, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिब ४ करोड १४ लाख रुपैयाँमध्ये करिब १ लाख र मोटर बीमा (निजी)तर्फ ४० वटा दाबीको करिब २ करोड ८२ लाख रुपैयाँमध्ये करिब ४८ लाख रुपैयाँ बीमितलाई भुक्तानी भएको देखिएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
यसैगरी हालसम्म मोटर बीमा (सार्वजनिक)तर्फ १० वटा दाबीको करिब १ करोड ८ लाख रुपैयाँ, अन्य बीमातर्फको २ वटा दाबीको करिब १२ लाख रुपैयाँ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिब १० को बीमा दाबी भुक्तानी सुरु नभएको प्राधिकरणले जनाएको छ।

















