काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितलाई निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
बोर्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो। ‘बीमित सेवाग्राहीको उपचार सेवामा कुनै प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डबमोजिम निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइदिनुहोला’, विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा सम्पूर्ण बीमितलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक सेवा वा परीक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि स्वास्थ्य संस्थाहरुलाई आग्रह गरिएको छ।
विज्ञप्तिअनुसार बीमा बोर्डले चालु आर्थिक वर्षको विभिन्न मितिमा स्वास्थ्य संस्थाहरुलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको छ। यो भुक्तानी २०८२ मंसिरसम्मको रहेको बोर्डले जनाएको छ। मंसिरपश्चातका दाबी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग पहल भइरहेको बोर्डले जनाएको छ।












