काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा उपचारको सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरुको लागि तोकेको नयाँ दरभाउ अनुसारै दाबी गर्न पुनः सेवा प्रदायक संस्थासँग अनुरोध गरेको छ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बुधबार सूचना जारी गर्दै सुविधा थैलीमा तोकिएको दररेट वा स्वास्थ्य संस्थाले कायम गरेको दररेटमध्ये जुन थोरै हुन्छ, सोही दाबी गर्न अनुरोध गरेको हो।
बोर्डले परिमार्जित दरभाउ लागू गर्नका लागि स्वास्थ्य संस्थाहरूसँग औषधी तथा औषधीजन्य सामग्री र प्रयोगशालासँग सम्बन्धित विवरण माग गरेको छ। यस्तो विवरण माघ ७ गतेसम्ममा बोर्डलाई इमेलमार्फत पठाउनुपर्ने दाबी व्यवस्थापन शाखा प्रमुख डा. पवन कुमार साहले जानकारी दिए।












