काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि)को पुनर्बीमा कारोबारमा रोक लगाएको छ।
सम्पत्ति शुद्धीकरण विभागको निर्देशनमा प्राधिकरणले हिमालयन रिमाथि अनुसन्धान गरेको थियो। सोही अनुसन्धान पूरा भएपछि प्राधिकरणले नियामकीय कारबाही गर्दै हिमालयन रिको पुनर्बीमा कारोबारमा आउँदो असार मसान्तसम्मका लागि रोक लगाएको हो।
प्राधिकरणको वैशाख २९ गते (मंगलबार)को निर्णयानुसार कारबाही गरिएको जनाइएको छ। पुनर्बीमा कारोबारमा रोक लगाइए पनि कम्पनीको रेट्रोसेसन व्यापारमा भने प्रभाव नपार्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले वित्तीय पारदर्शिता नदेखिँदासम्म धेरै व्यावसायिक निर्णयमा रोक वा नियन्त्रण लगाएको छ। प्राधिकरणले अनुसन्धानको प्रतिवेदन नआउन्जेल नयाँ ठूला सम्झौताहरुमा रोक लगाउँदै कम्पनीको आन्तरिक सुशासन सुधार्न अल्टिमेटम पनि दिएको छ।
पछिल्लो समय हिमालय रिको स्थापना, लाइसेन्स प्रक्रिया र संस्थापक शेयरधनीहरुको लगानीको स्रोतलाई लिएर सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयहरुमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेका छन्। विशेषगरी यो प्रकरणमा हिमालयन रिका प्रवर्द्धय दीपक भट्ट र सुलभ अग्रवाल जोडिएका छन्। भट्टमाथि कम्पनीको अर्बौं रकम व्यक्तिगत खातामा ट्रान्सफर गरेको र सोही रकमबाट अन्य कम्पनीको शेयर खरिद गरेको आरोप छ।
संस्थापक शेयरधनीहरुले अंकित मूल्यभन्दा बढी प्रिमियम तिरेर शेयर किनेको र उक्त रकमको स्रोत नखुलेको भन्दै विभागले विवरण मागेको छ। हिमालयन रिले अलियन्ट रिइन्स्योरेन्स ब्रोकर्समार्फत अस्वभाविक रुपमा कमिसन बाहिर पठाएको पनि भेटिएको छ।
व्यापक रुपमा अनुसन्धान भइरहँदा पूर्वअध्यक्ष शेखर गोल्छालगायत अन्य चारजना सञ्चालकले पदबाट राजीनामा दिइसकेका छन्। अहिले उदयकुमार निरौला अध्यक्षका रुपमा नियुक्त भएका छन्।












