काठमाडौं । विश्वव्यापी रुपमा जलवायु परिवर्तनका कारण हुने नोक्सानी बढ्दै गएपछि भारतको सरकारी पुनर्बीमा कम्पनी ‘जीआईसी रि’ले विदेशी सम्पत्ति र प्राकृतिक विपद् जोखिमहरुको व्यवसाय घटाउने निर्णय गरेको छ। यसको सट्टा कम्पनीले आफ्नो ध्यान क्याजुअल्टीदायित्व बीमा र स्पेसियालिटी (विशिष्टीकृत) बीमा व्यवसाय विस्तारमा केन्द्रित गर्ने योजना बनाएको छ।
रोयटर्सका अनुसार वैश्विक पुनर्बीमा क्षेत्रमा जलवायु परिवर्तनका कारण सिर्जित नोक्सानी बढेसँगै विपद् जोखिमहरुको पुनर्मूल्यांकन भइरहेका बेला भारतका तर्फबाट यो ठूलो कदम चालिएको हो। मुम्बईमा आयोजित एक कार्यक्रममा जीआईसी रिका अध्यक्ष हितेश जोशीले कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय पोर्टफोलियोमा क्याजुअल्टी र स्पेसियालिटी व्यवसायको हिस्सा बढाउने जानकारी दिए। ‘हाम्रो आन्तरिक विश्लेषणका आधारमा सम्भव भएसम्म हामीले प्राकृतिक विपद्तर्फको जोखिमलाई पुनः सन्तुलनमा ल्याउनुपर्छ’, जोशीले भने।
किन परिवर्तन हुँदैछ रणनीति ?
बितेका केही वर्षमा प्राकृतिक विपद्का कारण अत्यधिक नोक्सानी बेहोर्नुपरेपछि विश्वभरका पुनर्बीमा कम्पनीहरुले आफ्ना रणनीतिहरु परिमार्जन गरिरहेका छन्। एओनको प्रतिवेदन अनुसार सन् २०२४ मा मात्रै प्राकृतिक विपद्का कारण विश्वभर ३६८ अर्ब अमेरिकी डलरबराबरको आर्थिक क्षति भएको थियो। जुन सन् २००० यताको वार्षिक औसतभन्दा १४ प्रतिशत बढी हो।
अध्यक्ष जोशीले दक्षिण अफ्रिका र दुबईजस्ता परम्परागत रुपमा कम जोखिम भएका क्षेत्रमा आएको ठूलो बाढी तथा तीव्र रुपमा बढिरहेका चक्रवात र आँधीहरुले जोखिमको ढाँचा बदलिएको प्रमाणित गरेको बताए। स्विस रि इन्स्टिच्युटको हालैको अध्ययनले पनि बाढी, डढेलो र भीषण आँधीजस्ता मध्यम खालका मौसमी विपद्हरुले सन् २०२५ मा कुल बीमित नोक्सानीको ९२ प्रतिशत हिस्सा ओगटेको देखाएको छ।
अन्तर्राष्ट्रिय बजार विस्तारको नयाँ लक्ष्य
विश्वका १३७ देशमा व्यवसाय गरिरहेको जीआईसी रिले आर्थिक वर्ष २०२५।२६ मा ४४३ अर्ब भारु प्रिमियम संकलन गरेको थियो। जसमा अन्तर्राष्ट्रिय बजारको हिस्सा २५ प्रतिशत छ।
विदेशी सम्पत्ति बीमामा जोखिम घटाए पनि कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय पहुँच भने बढाउने रणनीति लिएको छ। आगामी ३ देखि ५ वर्षभित्र कुल पोर्टफोलियोमा विदेशी व्यवसायको हिस्सा ४० प्रतिशत पुर्याउने कम्पनीको लक्ष्य छ। यसका लागि जीआईसी रिले विशेष गरी जापान, ताइवान, दक्षिण कोरिया र युरोपका केही भागहरुलाई लक्षित गरेको छ।
स्पेसियालिटी र क्याजुअल्टीमा आकर्षण
पुनर्बीमा बजारमा स्पेसियालिटी (जस्तै– समुद्री, उड्डयन र साइबर जोखिम)तर्फ पुँजीको आकर्षण बढिरहेको छ। गाई कार्पेन्टरका अनुसार यो क्षेत्र नयाँ पुँजी र सञ्चित नाफाका कारण बलियो बन्दै गएको छ। अर्कातर्फ क्याजुअल्टी व्यवसायले दायित्व जोखिमहरु रक्षा गर्ने हुँदा यो मौसम जनित नोक्सानीबाट धेरै हदसम्म सुरक्षित रहन्छ।
हाल विश्वव्यापी पुनर्बीमा क्षेत्र पुँजीका हिसाबले मजबुत अवस्थामा छ। आर्टेक्स रिस्कका अनुसार सन् २०२६ को सुरुआतमा विश्वव्यापी पुनर्बीमा पुँजी ८०५ अर्ब अमेरिकी डलर पुगेको छ। यसले कम्पनीहरुलाई जोखिम व्यवस्थापन गर्दै पोर्टफोलियो परिमार्जन गर्ने लचकता प्रदान गरेको छ। जीआईसी रिको यो कदमले जलवायु परिवर्तनले कसरी बीमा कम्पनीहरुको व्यवसाय गर्ने शैली र अन्तर्राष्ट्रिय वृद्धिलाई प्रभाव पारिरहेको छ भन्ने स्पष्ट पार्छ।












