काठमाडौं । वीरगन्जस्थित चारतारे होटल, होटल दियालो प्राइभेट लिमिटेडको वित्तीय अवस्था कमजोर देखिएपछि केयर रेटिङ्स नेपालले यसको दीर्घकालीन कर्जाको रेटिङ घटाएको छ। सन् २०२५ मा न्यून अकुपेन्सी दर र औसत कोठा दरमा आएको गिरावटले होटल लगातार नगद घाटामा रहेका कारण रेटिङ ‘बी प्लस’ बाट घटाएर ‘बी’ कायम गरिएको छ ।
होटल दियालोले आफ्नो व्यवसायलाई गति दिन अक्टोबर ३०, २०२५ मा सिद्धार्थ हस्पिटालिटीसँग सम्झौता गरेको छ। यसअघि मार्च २०२५ मा लर्ड्स इन होटल एण्ड डेभलपर्ससँगको सम्झौता अन्त्य गरेको होटलले अब सिद्धार्थको व्यवस्थापन र ब्रान्ड प्रयोग गर्नेछ ।
सिद्धार्थ हस्पिटालिटी नेपालको स्थापित ब्रान्ड हो। यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सञ्जालले होटलको बुकिङ बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।सिद्धार्थले एकीकृत सेवा, कर्मचारी तालिम र प्रणाली कार्यान्वयनमा सहयोग गर्नेछ। जसले सेवाको गुणस्तर र पाहुनाको सन्तुष्टि बढाउनेछ । होटल वीरगन्ज जस्तो व्यवसायीक केन्द्रमा अवस्थित हुनु र सिद्धार्थको बैठक, सम्मेलन, प्रदर्शनी पर्यटनमा रहेको पकडले व्यापार वृद्धिमा सहयोग पुग्ने देखिन्छ।
यद्यपि, होटल उद्योगको लामो लगानी फिर्ता अवधि र बजारको तीब्र प्रतिस्पर्धाका कारण तत्कालै ठूलो नाफा आर्जन गर्न भने चुनौतीपूर्ण हुन सक्छ ।
सिद्धार्थ हस्पिटालिटीको प्रभाव र बजार अवस्थासिद्धार्थ हस्पिटालिटी ग्रुपको नेपालको पर्यटन बजारमा बलियो उपस्थिति छ। विज्ञप्तिका अनुसार, यससँगको आबद्धताले होटल दियालोलाई निम्न लाभ हुनेछ। सिद्धार्थको स्थापित ग्राहक सञ्जालले गर्दा होटलले प्रतिस्पर्धाको तुलनामा छिटो अकुपेन्सी दर सुधार गर्न सक्ने देखिन्छ ।
सिद्धार्थ हस्पिटालिटीसँग सहकार्य गर्नु अघि दियालो होटलको व्यवस्थापन छोटो समयका लागि सोल्टी होटल्सले सम्हालेको थियो। पछि दुबै पक्षबीच असमझदारी बनेपछि सोल्टी होटल व्यवस्थापनको जिम्मेवारीबाट बाहिरिएको थियो। सोल्टी होटल्सले अहिले वीरगन्जकै अर्को चार तारे होटलको व्यवस्थापन गरिरहेको छ।
दियालो होटल्सको कुल आम्दानी १३ करोड १० लाखबाट घटेर गत वर्ष ११ करोड ७० लाख रूपैयाँमा सीमित हुन पुगेको थियो। यो होटलको आम्दानीको मुख्य श्रोत क्यासिनो(जुवा) हो ।
होटल दियालोको वित्तीय अवस्था अहिले चुनौतीपूर्ण रहे तापनि सिद्धार्थ हस्पिटालिटीको प्रवेश र सरकारले पर्यटन दशक २०२३-२०३३ घोषणा गरी यस क्षेत्रमा गरेको लगानीले आगामी दिनमा सकारात्मक सुधारको आशा जीवितै राखेको छ.












