काठमाडौं । इन्धन संकटलाई देखाउँदै सरकारले स्वास्थ्य क्षेत्रमा समेत साताको दुई दिन बिदा घोषणा गरेपछि यसको गरिब, विपन्न र पिछडिएका वर्ग सर्वाधिक मारमा परेका छन्।
मध्यपूर्व र खाडीमा जारी युद्धका कारण इन्धनको आपूर्ति खुम्चिएको कारण देखाउँदै सवारीसाधनको प्रयोग कम गरेर इन्धनको खपत घटाउनका लागि सरकारले सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, बीमा कम्पनी, शिक्षण संस्थामा समेत शनिबार र आइतबार दुई दिने बिदा दिने निर्णय गरेको हो।
सुरुमासरकारले आलोपालो गर्दै आइतबार बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिए पनि स्वास्थ्यकर्मी संलग्न १४ वटा संगठनले विरोध जनाएपछि स्वास्थ्य मन्त्रालयले उनीहरुका लागि पनि आइतबार समेत साप्ताहिक बिदाको सुविधा लागू गरेको छ। सात दिनमा दुई दिन बिदा भएर बाँकी पाँच दिनमात्र अस्पताल सञ्चालनमा रहँदा चिकित्सकलाई नियमित जाँच गराउनुपर्ने, उपचारका लागि टाढाको अस्पताल धाउनुपर्ने र प्रयोगशाला परिक्षण प्रतिवेदन देखाएर विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुपर्ने बाध्यताका बिरामी सर्वाधिक मारमा परेका छन्।
यसबाहेक शुक्रबार स्वास्थ्य उपचारका लागि सहर पुगेका बिरामीले पूरै जाँच गराउन नसकेको अवस्थामा शनिबार र आइतबार दुई दिन सहरमै महँगो खर्चमा बास बस्नुपर्ने बाध्यता आइपरेको छ।
भक्तपुरको नेपाल कोरिया मैत्री अस्पतालले विशेषज्ञ चिकित्सकमार्फत आइतबार, मंगलबार र बिहीबार सेवा दिइरहेकोमा आइतबार सार्वजनिक बिदा परेकाले अब हाडजोर्नी सम्बन्धी विशेषज्ञ सेवा उनीहरुले मंगलबार र बिहीबारमात्रै पाउने अवस्था छ। यो एउटा उदाहरण मात्र हो। देशभरका सार्वजनिक अस्पतालहरुको सेवा प्रवाह तालिका नै प्रभावित बनेको छ।
बिहान ९ बजे भेटिँदैनन् चिकित्सक
छ दिनको साटो पाँच दिन कार्यालय सञ्चालन गरेर बिहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय समय तोकेको छ। तर, देशभरका अधिकांश अस्पतालमा बिहान ९ बजेदेखि ओपीडी कक्षमा चिकित्सक भेटिँदैनन्। सोमबार जडीबुटीस्थित बीपी कोइराला बाल आँखा अस्पतालको नाक, कान, घाँटी कक्षमा बिहान ९ः३० बजेसम्म पनि बिरामीको जाँच गर्नका लागि चिकित्सक उपस्थित थिएनन्। उपस्थित एकमात्र चिकित्सक पनि शल्यक्रियाका लागि बिरामीको एक्सरे र ल्याब रिपोर्ट हेर्नुपर्ने जिम्मेवारीमा बाँधिएका थिए।
सरकारी अस्पतालका चिकित्सकहरुले निजी क्षेत्रबाट सञ्चालित अस्पतालमा समेत जागिर गर्ने र निजी क्लिनिक समेत सञ्चालन गर्नुपर्ने भएकाले उनीहरु बिहान ९ बजेदेखि नै सरकारी अस्पतालमा ओपीडी सेवामा उपस्थित हुँदैनन्। इन्धन अभावका कारण लागू भएको कार्यालय समय कति महिनाका लागि निरन्तरता प्राप्त हुने हो भन्ने यकीनसमेत नभएकाले उनीहरुले निजी क्षेत्रको अस्पताल वा आफ्नो क्लिनिकमा सेवा दिने समय व्यवस्थापनमा चासो देखाएका छैनन्।












