काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आइआरडिएआई) ले हिमालयन रिइन्स्योरेन्स कम्पनी (हिमालयन रि) को अन्तर सीमा पुनर्बीमा कारोबार इजाजत खारेज गरेको छ।
आइआरडिएआइले गत जुन ११ तारेखदेखि नै हिमालयन रि को इजाजत खारेज गरिदिएको हो। प्राधिकरणबाट, हिमालयन रिले अन्तरसीमा पुनर्बीमक (क्रस बोर्डर रिइन्स्योरेन्स) को हैसियतमा भारतीय बीमा बजारबाट पुनर्बीमा जोखिम स्वीकार गर्न १६ जनवरी २०२४ मा ‘CBR00490595/202627’ संकेत नम्बर प्राप्त गरेको थियो।
हिमालयन रिका प्रवर्द्धक, सञ्चालक र उच्च व्यवस्थापनको मिलेमतोमा कोषको दुरूपयोग भएकाले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको निष्कर्षसहित नेपाल बीमा प्राधिकरणले पनि २०८३ असार मसान्तसम्मका लागि पुनर्बीमा कारोबारमा रोक लगाएको छ। प्राधिकरणले बैशाख २९ गतेदेखि पुनर्बीमा कारोबारमा रोक लगाएको हो।
सरकारले हिमालयन रिका पूर्व अध्यक्ष शेखर गोल्छा, पूर्व सञ्चालक साहिल अग्रवाल, प्रवर्द्धक दिपक भट्ट, शुलभ अग्रवाल, प्रमुख कार्यकारी अधिकृत उपासना पाैडेल सहितका विरूद्ध कम्पनीको सम्पत्ती र कोष दुरूपयोग गरेको अभियोग सहित सम्पत्ती शुद्धिकरण, बीमा कसूर, बैंकिङ कसूर, धितोपत्र सम्बन्धी कसूरमा दायर गरेको मुद्दा विचाराधिन छ।












