काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। उनले फेसबुक स्टेटसमार्फत राजीनामा दिएको जानकारी गराएका हुन्।
पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराए। ‘हिजो भाद्र २३ गते काठमाडौंलगायत देशैभरिका सडकमा हामीले जे देख्यौँ त्यो लोकतन्त्रमा उपयुक्त थिएन। सडक र सामाजिक सञ्जालमा उर्लिएको जेनजी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी हो। उनीहरुले केवल प्रश्न सोधेका थिए’, उनले भने, ‘हाम्रा छोराछोरीले आफ्नो भविष्य मागेका थिए, भिडन्त होइन। उनीहरुले राज्य व्यवस्थामा सुधार खोजेका हुन्, अराजकता होइन।’
‘अहिंसा लोकतन्त्रको प्राण हो’ भन्ने सिद्धान्तमा अडिग रहेर राजनीतिमा होमिएको आफू हिजो आफ्नै निहत्था छोराछोरी पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको पौडेलले बताए। ‘जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ, त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मुकदर्शक बन्न मेरो आत्माले मानेन’, उनले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा आफ्नो कार्यकालभरि आफूलाई अटुट सहयोग र विश्वास प्रदान गर्ने पार्टी नेपाली कांग्रेस, आफूलाई सफल बनाउन सल्लाह सुझाव तथा सहयोग उपलब्ध गराउने विज्ञहरु र आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ५ का जनसमुदायप्रति उनले आभार व्यक्त गरेका छन्। ‘नागरिकको स्वास्थ्य सेवामा दिनरात नभनी समर्पित मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारी, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु’, उनले भने।
आफ्नो व्यक्तिगत जीवन र कांग्रेस पार्टीले सिकाएको सबैभन्दा ठूलो आदर्श लोकतन्त्रको केन्द्रमा आमनागरिक हुनुपर्छ, राज्य विधि र पद्धतिले चल्नुपर्छ भन्ने रहेको पौडेलले अवगत गराए। ‘विधि र पद्धतिमाथि आँच आयो भने त्यसको रक्षा गर्न जुनसुकै मूल्य चुकाउन पनि तयार हुनुपर्दछ। लोकतन्त्रमा हरेक नागरिकको आवाजको सम्मान हुनुपर्छ र असहमतिलाई बलजफ्ती फौजी शक्तिले होइन, संवादले सम्बोधन गरिनु पर्छ’, उनले भने, ‘यो नै मेरो राजनीतिक जीवनको सबैभन्दा ठूलो आदर्श हो।’
‘आजको युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो। यो पुस्ताको ऊर्जा र चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्रै देश अघि बढ्न सक्छ। उनीहरुको आवाज नसुन्नु भनेको देशको भविष्यलाई अस्वीकार गर्नु हो’, पौडेलले भने, ‘एकातिर घाइतेहरुको उपचारको व्यवस्था मिलाउनु, अर्कोतिर त्यही राज्य संयन्त्रको अंग बनिरहनु—यो नैतिक संकटमा म रही रहन सकिनँ। त्यसैले लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु।’

















