IME Life New
GBIME

गार्डियन माइक्रो लाइफले देखायो हकप्रदको लोभ, शेयरभाउ उचालेर सोझा लगानीकर्तालाई भिडाउने दाउ

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले हकप्रद शेयरको प्रलोभन देखाएर शेयरभाउ उचाल्ने सोझा लगानीकर्तालाई भिडाउने दाउ गरेको छ।

दोस्रो वार्षिक साधारणसभा सकिएको एक हप्तामै कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको छ। विशेष साधारणसभा आउँदो वैशाख ५ गते डाकिएको छ। दोस्रो वार्षिक साधारणसभा चैत ११ गते सम्पन्न भएको थियो।

Crest

सोही विशेष साधारणसभामार्फत हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने निर्णय पनि कम्पनी सञ्चालक समितिले गरेको छ। हाल कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको छ।

कम्पनीले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने सूचना आएसँगै आज दोस्रो बजारमा यो कम्पनीको शेयरभाउ सकारात्मक सर्किट लागिसकेको छ। यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरभाउ प्रतिकित्ता २३४.५० रुपैयाँले बढेर २ हजार ५७९.८० रुपैयाँ पुगेको छ।

हकप्रद शेयरकै लोभमा लगानीकर्ता यो कम्पनीको शेयरमा झुम्मिएका छन्। तर, कम्पनीको हकप्रद तत्काल आउने सम्भावना देखिँदैन। धेरै नियामकीय प्रावधान पूरा गरेपछि मात्रै हकप्रद शेयर जारी गर्न पाउने भएकोले पनि २ वर्षभन्दा बढी नै समय लाग्ने देखिन्छ। यदि नियामकीय प्रावधान पूरा नगरेको खण्डमा हकप्रद नआउन पनि सक्छ। त्यो अवस्थामा चर्को मूल्यमा गार्डियन माइक्रो लाइफका शेयर किनेका सोझा लगानीकर्ता फस्ने सम्भावना देखिएको छ।

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाका अनुसार पछिल्लोपटक सार्वजनिक निष्कासन गरेको १८० दिन पूरा भएपछि कम्पनीले हकप्रद शेयर जारी गर्न पाउँछ। एक आर्थिक वर्ष १ पटकमात्रै हकप्रद ल्याउन पाइन्छ भने निष्कासन भइसकेको शेयरको अंकित मूल्य पूरा चुक्ता भएको हुनुपर्छ।

हकप्रद शेयर जारी गर्ने प्रक्रिया बढाउनुअघि कुनै पनि बीमा कम्पनीले नियामक नेपाल बीमा प्राधिकरणसँग पूर्वस्वीकृति लिनुपर्छ। तर, गार्डियन माइक्रो लाइफले हकप्रद शेयर जारी गर्न बीमा प्राधिकरणमा पूर्वस्वीकृतिका लागि प्रक्रिया नै अगाडि नबढाएको पाइएको छ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीले गार्डियन माइक्रो लाइफले हकप्रद शेयर जारी गर्नका लागि कुनै पनि कागजपत्र प्राधिकरणमा पेस नगरेको जानकारी दिए। ‘त्यो कम्पनीको वित्तीय विवरण स्वीकृत गर्दासम्म हकप्रद ल्याउने भनेर प्राधिकरणमा कुनै प्रक्रिया अगाडि बढाएको छैन’, उनले भने।

गार्डियन माइक्रो लाइफका सूचना अधिकारी एवं कम्पनी सचिव रामप्रसाद पौडेलले बीमा प्राधिकरणले २०८४ सालसम्म जोखिममा आधारित पुँजी कायम गर्न भनेकोले हकप्रद शेयर जारी गर्ने प्रस्ताव विशेष साधारणसभामा लैजान लागेको बताए। ‘अहिलेदेखि नै हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि नबढाउँदा २०८४ सालसम्म नियामकको निर्देशनबमोजिम जोखिममा आधारित पुँजी कायम गर्न सम्भावना नहुने हामी देख्यौँ, त्यही भएर अहिले नै प्रक्रिया अगाडि बढाउन लागिएको हो’, उनले भने, ‘अब बीमा प्राधिकरण स्वीकृति दिन्छ वा दिँदैन, त्यो प्राधिकरणमै निर्भर छ। प्राधिकरण स्वीकृति दिएको अवस्थामा मात्रै हामीले हकप्रद शेयर जारी गर्ने हो।’

पौडेलले शेयरभाउ उचाल्नकै लागि भने हतार–हतारमा विशेष साधारणसभा डाकेर हकप्रद शेयरको अजेन्डा पारित गर्न लागेको भन्ने कुरा भने गलत रहेको बताए। ‘दोस्रो वार्षिक साधारणसभामै हकप्रद शेयर जारी गर्ने अजेन्डा लैजान सकिन्थ्यो तर परिस्थितिवश त्यो हुन सकेन’, उनले भने, ‘त्यसैले विशेष साधारणसभा डाकेर हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरिएको हो।’

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS