काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि देखिएको वित्तीय संकट टार्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारसँग १५ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ ।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा १० अर्ब रुपैयाँ छुट्ट्याएकोमा अपुग भएपछि यसअघि नै थप १ अर्ब रूपैयाँ उपलब्ध गराइ सकेको छ। दायीत्व बढ्दै जाँदा रकम अपुग भएपछि मन्त्रालयले सरकारसँग थप १५ अर्ब रूपैयाँ मागेको हो।
मन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएको आर्थिक संकट समाधानका लागि ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा वापतको १ महिनाको रकम कट्टा गरेरै भएपनि तत्कालका लागि केहि रकम उपलब्ध गराउन अनुराेध गरेकी छिन् ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सिंहदरबारमा बुधवार भएको छलफलमा मन्त्री गौतमले तत्काल बजेटको व्यवस्था नगरे स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने चेतावनी दिएकी थिइन् । उनले ठूलो रकम भुक्तानी गर्न बाँकी भएकाले स्वास्थ्य बीमा प्रणालीमा आबद्ध अस्पतालसमेत अार्थिक संकटमा पर्न सक्ने जानकारी गराइन् ।
मन्त्रालयका अनुसार, बोर्डले अझै पनि २४ अर्ब रूपैयाँ दायीत्व बोकेको छ।












