काठमाडौं । बैंकहरुमा गाडी कर्जाको माग खासै सुधार आएको देखिँदैन। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को ८ महिना फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो।
तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकबाट चालु आर्थिक वर्षको फागुनसम्म १ खर्ब १३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ गाडी कर्जा गएको छ। यो शीर्षकमा अघिल्लो वर्ष यही अवधिसम्म १ खर्ब ७ अर्ब ६४ करोड १० लाख रुपैयाँ प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा गाडी कर्जा ५.३८ प्रतिशतले मात्रै बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११ वटा बैंकको गाडी कर्जा घटेको छ भने बाँकी ९ वटा बढेको छ। सर्वाधिक गाडी कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई अग्रस्थानमा रहेको छ भने वृद्धिदरका हिसाबले राष्ट्रिय वाणिज्य बैंक अगाडि रहेको छ।
चालु आर्थिक वर्षको फागुनसम्म ग्लोबल आइएमईले सर्वाधिक १५ अर्ब ८६ करोड ९० लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १३ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको गाडी कर्जा प्रवाह १६.१० प्रतिशतले बढेको छ।
दोस्रोमा नबिलबाट ११ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ गाडी कर्जा गएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ९ अर्ब ७६ करोड ६२ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नबिलबाट १८.९५ प्रतिशत बढी गाडी कर्जा प्रवाह भएको छ।
सर्वाधिक गाडी कर्जा प्रवाह गर्ने तेस्रो बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। अघिल्लो वर्ष मंसिरसम्म बैंकले ८ अर्ब ७६ करोड ८० लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिसम्म ५ अर्ब ४४ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको गाडी कर्जा ६०.९४ प्रतिशतले बढेको छ। गाडी कर्जा वृद्धिदरका हिसाबले यो सर्वाधिक हो।